काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा विश्वका प्रमुख सेयर बजारहरुमा उल्लेखनीय वृद्धि देखिएको छ । युरोप, एशिया, अमेरिका तथा ल्याटिन अमेरिकाका अधिकांश देशका सेयर बजारहरु दोहोरो अंकले बढेपछि विश्व अर्थतन्त्र क्रमशः स्थिरतातर्फ फर्किंदै गएको संकेत देखिएको छ ।
ट्रेडिङ इकोनोमिक्सका अनुसार स्पेनको ‘इएस३५’ सूचकांक सबैभन्दा बढी करिब ४९ प्रतिशत ले बढेको छ । त्यसपछि दक्षिण अफ्रिकाको एसएएएलएल, ब्राजिलको आइबीओभीइएसपीए र मेक्सिकोको आइपीसी सूचकांकले ३० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ ।
युरोपेली बजारमा इटाली, जर्मनी र बेलायतका सेयर बजार पनि मजबुत रुपमा उकालो लागेका छन् । एशियाली बजारहरुमा हङकङ, जापान र सिंगापुरको सेयर बजार उल्लेखनीय रुपमा बढेका छन् । चीनको शाङ्घाइ सूचकांक मध्यम दरले उकालो लागेको छ भने भारतको सेन्सेक्समा तुलनात्मक रुपमा सीमित वृद्धि देखिएको छ ।
अमेरिकाको न्यासड्याक, एसएन्डपी ५००, डाउ जोन्स सूचकांकहरु स्थिर तर सकारात्मक अवस्थामा रहेका छन् । क्यानडाको टीएसएक्स सूचकांकले भने निकै राम्रो प्रदर्शन गरेको छ ।
विश्लेषकहरुका अनुसार मुद्रास्फीति क्रमशः नियन्त्रणमा आउनु, ब्याजदर थप नबढ्ने अपेक्षा, कम्पनीहरुको नाफा सुधार र आर्थिक गतिविधि बढ्नु बजार उकालो लाग्नुका प्रमुख कारण हुन्। साथै प्रविधि, हरित ऊर्जा र नवप्रवर्तन क्षेत्रमा बढ्दो लगानीले पनि बजारलाई बलियो बनाएको बताइन्छ।
तर सबै बजार सकारात्मक छैनन्। रुसको सेयर बजार भने राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण घटेको देखिएको छ । समग्रमा, पछिल्लो एक वर्षको तथ्यांकले विश्व सेयर बजारहरुमा सकारात्मक धारणा र बढ्दो लगानीकर्ता विश्वास झल्काएको छ, यद्यपि आगामी दिनमा विश्वव्यापी राजनीतिक र आर्थिक घटनाक्रमले बजारको दिशा निर्धारण गर्ने विश्लेषकहरुको भनाइ छ ।


