CLI

विकटमा सेयर बजारको पहुँच न्यून, ८ जिल्लामा जनसंख्याको १० प्रतिशत कमको डिम्याट खाता, कुन जिल्लामा कति ? विस्तृतमा

काठमाडौं । नेपालको सेयर बजार विस्तार अझै पनि भौगोलिक रुपमा असन्तुलित देखिएको छ । विशेषगरी हिमाली तथा विकट जिल्लामा सेयर बजारको पहुँच न्यून रहँदा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या निकै कम रहेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले सहरी र केही सीमित जिल्लामा मात्रै सेयर बजार केन्द्रित भएको देखाएको छ ।

सीडीएससीका अनुसार ८ वटा जिल्लामा कुल जनसंख्याको १० प्रतिशतभन्दा कमले मात्र डिम्याट खाता खोलेका छन् । यस्तै, ३५ वटा जिल्लामा जनसंख्याको २० प्रतिशतभन्दा कमको डिम्याट खाता रहेको छ । यसले सेयर बजारमा आम नागरिकको पहुँच अझै सीमित रहेको स्पष्ट संकेत गर्छ । विशेषगरी हिमाली जिल्लाहरुमा यो अवस्था झनै गम्भीर देखिएको छ ।

विकट तथा हिमाली जिल्लामा सेयर बजार नपुग्नुका पछाडि कमजोर भौतिक पूर्वाधार, बैंक तथा ब्रोकर संस्थाको न्यून उपस्थिति, इन्टरनेट तथा डिजिटल सेवाको अभाव र वित्तीय साक्षरताको कमी मुख्य कारण मानिएका छन् । धेरै स्थानमा सेयर बजार र डिम्याट खाताबारे आधारभूत जानकारी नहुँदा सर्वसाधारण बैंक बचत वा परम्परागत लगानीमै सीमित छन् ।

यद्दपि, हाइड्रोपावर कम्पनी सञ्चालन रहेका जिल्लामा भने डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्य वृद्धि देखिएको छ । स्थानीय बासिन्दाहरु हाइड्रोपावरको प्राथमिक सेयर (आइपीओ) भर्नका लागि भएपनि डिम्याट खाता खोल्ने गरेकाले त्यस्ता जिल्लामा डिम्याट खाताको संख्या तीव्र रुपमा बढेको हो ।

“हाइड्रोपावर आएपछि सेयर भर्नैपर्छ भन्ने सोच बनेको छ,” एक वित्तीय विश्लेषकले बताए, “सेयर खरिदबिक्री गर्न जसरी पनि डिम्याट खाता चाहिने भएकाले खाता खोल्ने संख्या बढेको हो ।”

यसको स्पष्ट उदाहरण दोलखा र रसुवा जिल्ला हुन् । सीडीएससीका अनुसार यी जिल्लामा खोलिएका डिम्याट खाताको संख्या त्यहाँको कुल जनसंख्या भन्दा बढी रहेको छ । सीडीएससीका एक अधिकारीका अनुसार डिम्याट संख्या त्यसरी बढ्नुको कारण हाल अर्कै ठाउँमा बस्दै आए पनि नागरिकतामा त्यही २ जिल्ला ठेगाना भएको हुँदा डिम्याटमा पनि सोही ठेगाना देखिएको हुन सक्ने बताउँछन् ।

उनले भने, ‘नागरिकतामा जे ठेगाना छ त्यसै अनुसार डिम्याटमा पनि देखिन्छ । बिहे गरेर गएकाहरुको नागरिकतामा पनि जे छ त्यही अनुसार लेखेको हुन्छ । बसाँइसराइ गरेकाहरुको पनि त्यही भयो ।’

यसका साथै, कतिपयले २ वटा पनि डिम्याट खाता खोलेका छन् भने केही खाता निष्क्रिय छन् ।तर, हाइड्रोपावर आयोजना नभएका अन्य विकट जिल्लामा भने सेयर बजारको पहुँच अझै पनि कमजोर नै छ । त्यस्ता जिल्लामा सेयर बजारप्रति चासो कम हुनुका साथै जोखिमपूर्ण लगानी भन्ने सामाजिक धारणा कायम रहेको सरोकारवालाहरु बताउँछन् ।

विशेषज्ञहरुका अनुसार विकट जिल्लामा वित्तीय साक्षरता, डिजिटल पूर्वाधार र ब्रोकर–बैंकको पहुँच विस्तार नगरेसम्म सेयर बजारको समावेशी विकास सम्भव नहुने देखिन्छ । लगानीकर्ताका नेताहरुले पटक–पटक देशभर सेयर बजार विस्तार गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने यसको प्रभाव विकट तथा दुर्गम जिल्लामा देखिन सकेको छैन ।

सेयर बजारमा सहभागिता अझै पनि सहरकेन्द्रित रहँदा ग्रामीण र हिमाली जिल्लामा पहुँच न्यून नै रहेको छ । यसले सेयर बजार विस्तारका लागि गरिएको दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको देखाएको छ ।

लगानीकर्ताका नेताहरु र संघ संस्थाले देशव्यापी पहुँचको कुरा गरे पनि दुर्गम क्षेत्रमा पुगेर ठोस कार्यक्रम सञ्चालन गरेको उदाहरण न्यून छ ।
बरु सहर र सहरी क्षेत्रमा एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्ने प्रवृत्ति बढ्दो छ । यसले पनि डिम्याट खाता संख्या बढी देखाएको हो । हालसम्म ५ लाख ६२ हजार जनाले १ भन्दा धेरै खाता खोलेका छन् ।

कुन जिल्लावाट कति खोलिए खाता ? 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार