CLI

अफ्रिका कप अफ नेसन्स : सेनेगल च्याम्पियन

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलल जितेको छ । आइतबार मोरक्कोमा सम्पन्न फाइनलमा आयोजक मोरक्कोलाई १–० ले पराजित गर्दै सेनेगलले उपाधि जितेको हो ।

खेल अन्त्यतिर अत्यन्तै विवादास्पद अवस्था सिर्जना भयो । इन्जुरी समयमा मोरक्कोलाई पेनाल्टी दिइएपछि आक्रोशित सेनेगाली समर्थकहरू मैदानमा प्रवेश गर्न खोज्दा खेल रोक्ने अवस्थामा पुग्यो । त्यसको केही क्षण अघि सेनेगलले गरेको स्पष्ट गोल अमान्य गरिएको थियो । यसले तनाव झन् चर्कियो । मैदानमा सुरक्षाकर्मी र समर्थकबीच झडप भयो भने मोरक्कोका वैकल्पिक खेलाडीहरूसँग सेनेगलका खेलाडीबीच पनि विवाद चर्कियो । सेनेगलका प्रशिक्षक पापे थियावले खेलाडीहरूलाई मैदान बाहिर लैजाँदा खेल रद्द हुने आशंका समेत उत्पन्न भएको थियो ।
यसैबीच अनुभवी फ्रेन्च प्रशिक्षक क्लोदले रोयले साइडलाइनमा मानेसँग कुरा गर्दै खेल पुनः सुरु गर्नु टिमका लागि राम्रो हुने सल्लाह दिएका थिए । मानेले त्यसमा सहमति जनाउँदै आफ्ना सहकर्मीहरूलाई मैदान फर्कन संकेत गरे ।

१४ मिनेटको ढिलाइपछि मोरक्कोले पेनाल्टी प्रहार गर्‍यो । तर, सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले ब्राहिम डियाजको कमजोर प्रहार सजिलै बचाए । खेल अतिरिक्त समयमा प्रवेश गर्‍यो । अतिरिक्त समयको चौथो मिनेटमै पापे गेयेले सानदार प्रहार गर्दै सेनेगललाई ऐतिहासिक जित दिलाए । खेलभरि माने मोरक्कोको रक्षापंक्तिका लागि निरन्तर खतरा बने । उनलाई रोक्न प्रायः तीनभन्दा बढी रक्षक चाहिन्थ्यो । निलम्बित कप्तान कालिदु कुलिबालीको अनुपस्थितिमा मानेले टोलीको नेतृत्व गरे । उनले अहिलेसम्म ६ अफ्रिका कप खेलेका छन् र दुई पटक उपाधि जितिसकेका छन् ।

Leave Your Comment

Related News