काठमाडौं । म्यानचेस्टर सिटीले सेमिफाइनलको दोस्रो लेगमा न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै लिग कप (काराबाओ कप) को फाइनलमा स्थान बनाएको छ । दुई खेलको समग्र नतिजामा सिटी ५–१ ले विजयी भयो । एतिहाद स्टेडियममा भएको खेलमा ओमार मार्मुशले पहिलो २९ मिनेटभित्रै दुई गोल गरे । त्यसपछि तिज्जानी राइनडर्सले तेस्रो गोल थपे । दोस्रो हाफमा एन्थोनी एलाङ्गाले न्युक्यासलका लागि एक गोल फर्काए तर त्यो केवल सान्त्वना मात्र बन्यो ।
पहिलो लेगमा २–० ले विजयी सिटीले यो खेलमा केही मुख्य खेलाडीलाई आराम दिएको थियो । एर्लिङ हालान्ड पनि सुरुआती टोलीमा थिएनन्। तर त्यसका बाबजुद सिटीले सुरुआतदेखि नै उत्कृष्ट खेल देखायो। खेलको सातौँ मिनेटमा मार्मुशको प्रहार डिफेन्समा लागेर गोलमा परिणत भयो। २९ औँ मिनेट नजिकिँदै गर्दा उनले हेडरमार्फत दोस्रो गोल गरे। त्यसको तीन मिनेटपछि राइनडर्सले काउन्टर एट्याकबाट गोल गर्दै खेल सिटीको पक्षमा पारे। न्युकासलका एन्थोनी गोर्डन घाइते भएर बाहिरिएपछि टोली थप कमजोर बन्यो। ६२ औं मिनेटमा एलाङ्गाले व्यक्तिगत प्रयासबाट गोल गरे पनि थप गोल हुन सकेन।
यो जितसँगै सिटीले लिग कपको इतिहासमा १०औँ पटक फाइनलमा स्थान बनाएको छ । सिटीले अर्को महिना आर्सनलसँग फाइनल खेल्नेछ । सिटीले घरेलु मैदानमा न्युक्यासलविरुद्ध लगातार १२ खेल जितेको छ भने एतिहादमा पछिल्ला १९ मध्ये १८ खेलमा सफलता हासिल पारेको छ।


