CLI

वेस्ट इन्डिजको विजयी सुरुवात, स्कटल्यान्डलाई ३५ रनले पराजित

काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको सहज जित हात पारेको हो ।

१८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो । उसका लागि रिचि बेरिङटनले सर्वाधिक ४२ रन बनाउँदा टम ब्रुसले ३५ रन जोडे । यस्तै, जर्ज मुन्सीले १९, मार्क वाटले १५ तथा ब्रान्डन म्याकमुलेनले १४ रन बनाए । स्कटल्यान्डको इनिङ ध्वस्त पार्न रोमारियो शेफर्डले ह्याट्रिकसहित ५ विकेट लिए । आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो ह्याट्रिकमा शेफर्डले नाम दर्ता गराए । यस्तै, जेसन होल्डरले तीन तथा समर जोसेफ र गुडाकेश मोटीले एक–एक सफलता हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेटको क्षतिमा १८२ रन जोड्यो । उसका लागि शिमरोन हेटमायरले विष्फोटक पारी खेले । उनले ३६ बलमा ६४ रन बनाए । उनको ब्याटबाट छ छक्का र दुई चौका निस्कियो । यस्तै, ब्रान्डन किंगले ३५, रोभमान पोवेलले २४, शाई होपले १९, शेरफेन रदरफोर्डले २६ रन जोडे । बलिङतर्फ स्कटल्यान्डका ब्राड्ली जेम्स कुरीले दुई तथा ओलिभर डेभिडसन, सफ्यान शरिफ र माइकल लिस्कले एक–एक विकेट लिए ।

Leave Your Comment

Related News