काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ९८ करोडको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको ३२ लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिसकेको छ ।
२ लाख २० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि, १ लाख ११ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र ४४ हजार ४०० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।
यो निष्कासन बन्द छिटोमा फागुन २६ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?
शिखर पावर डेभलपमेन्टलाई इक्रा नेपालले “[ICRANP -IR] BB” (Pronounced as ICRA NP Issuer Rating Double B) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम (Moderate risk of default regarding timely servicing of financial obligation) जनाउँदछ ।

कति कित्ताका लागि दिने आवेदन ?
शिखर पावरको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा १ लाख ८४ हजार २६० जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
आयोजना सम्बन्धी विवरण
शिखर पावर डेभलपमेन्ट लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०७१ साल भदौं २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । पछि २०७९ साल असार ८ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. १०, खरीबोटमा रहेको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र (पावर हाउस) बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं ७ मा रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :
शिखर पावरले बागलुङमा निर्माण गरेको भिमखोला साना जलविद्युत आयोजना (४.९६ मेगावाट) व्यावसायिक उत्पादनमा प्रवेश गरेको छ । कम्पनीमा १५४ जना संस्थापक सेयरधनी रहेका छन् । सेयरधनीहरु ऊर्जा, बैंक तथा वित्त, शिक्षा, व्यापार–व्यवसाय र व्यवस्थापन क्षेत्रमा अनुभवी व्यक्तिहरू संस्थापक सेयरधनीका रूपमा आबद्ध छन् ।
प्रबन्धपत्रअनुसार कम्पनीका सेयर ‘क’ र ‘ख’ वर्गमा विभाजन गरिएको छ । जारी पुँजीमध्ये ६७.३५ प्रतिशत ‘क’ वर्ग (संस्थापक) र ३२.६५ प्रतिशत ‘ख’ वर्ग (सर्वसाधारण) का लागि छुट्याइएको छ । ‘ख’ वर्गअन्तर्गत आयोजना तथा प्रसारण लाइन प्रभावित क्षेत्र बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिका–२ का स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारी समावेश छन् ।
ऊर्जा मन्त्रालयबाट २०७६ पुस २९ गते विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाको अनुमति २१११ पुस २८ गतेसम्म बहाल रहनेछ । आयोजना बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ मा निर्माण गरिएको हो । कम्पनीले २०८१ फागुन २५ गतेदेखि आयोजना व्यावसायिक उत्पादनमा गएको जनाएको छ ।
आयोजनाको निर्माण अवधिको ब्याजसहित कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ रहेको छ । लगानी फिर्ता अवधि ८.९२ वर्ष तथा डिस्काउन्टेड पे–ब्याक अवधि १३.६४ वर्ष रहेको कम्पनीले जनाएको छ । उत्पादित सम्पूर्ण विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।
यसका लागि कम्पनी र प्राधिकरणबीच २०७५ असोज १० गते नै ४.९६ मेगावाट क्षमताको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
यसैबीच, कम्पनीले प्रवर्द्धन गरिरहेको लोअर भिमखोला क्यासकेड जलविद्युत आयोजना (६.०५ मेगावाट) को अध्ययन सम्पन्न भई २०७७ चैत २० गते प्राधिकरणसँग जडान सम्झौता गरिएको छ ।
आयोजनाले २०७९ फागुन २६ गते उत्पादन अनुमतिपत्र प्राप्त गरी २०८० माघ ४ गते विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। हाल आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

धितोपत्र जारी गर्नुको उद्देश्य :
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पुँजी ९८ करोडको ३२.६५ प्रतिशत सेयर सार्वजनिक निष्काशन गरी कम्पनीमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट समेत प्रतिनिधित्व गराउने उद्देश्यले सेयर जारी गर्न लागेको हो । यस कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पुँजी संकलन गर्न, संकलित पुँजीलाई परिचालन गर्दै अर्को क्यासकेड आयोजना निर्माण गरी जलविद्युत उत्पादन गर्ने रहेको छ ।

निष्काशनबाट प्राप्त हुने कूल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरणः
कम्पनीले आइपीओ निष्काशनबाट प्राप्त हुने कुल रकम ३२ करोड रुपैयाँमध्ये निर्माण सम्पन्न भई व्यवसायिक उत्पादन शुरु गरेको भिमखोला साना जलविद्युत आयोजना (४.९६) को कर्जा भुक्तानी गर्नको लागि ८ करोड र यसै कम्पनीको नाममा नेपाल सरकार, विद्युत विकास विभागबाट उत्पादन अनुमती प्राप्त गरेको लोअर भिमखोला क्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.) को निर्माण कार्यमा २४ करोड लगानी गर्नेछ ।

वित्तीय अवस्था
कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ९८ करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ६६ करोड रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने ९८ करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।
गत आर्थिक वर्षमा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ४ करोड ७९ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा ९ करोड १५ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षसम्म कम्पनीको सञ्चित नाफा ४ करोड ४० लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १०८.७४ रुपैयाँ छ ।

आयोजनाका तस्बिरहरु



