CLI

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने

काठमाडौं । श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ । मङ्गलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था लागू गरिने भएको छ ।

आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीले सार्वजनिक गरेको जानकारी अनुसार सबै सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालतहरू पनि बुधबार बन्द रहनेछन् ।

तर स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन । सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकताका आधारमा बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ ।

यससँगै इन्धन सङ्कटलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रमहरू स्थगित गरेको छ । साथै निजी क्षेत्रका संस्थाहरूलाई पनि सम्भव भएसम्म यस्तै व्यवस्था अपनाउन सरकारको अनुरोध रहेको छ ।

Leave Your Comment

Related News