CLI

सोपान फर्मास्युटिकल्सको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले बिहीबार, चैत ३ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।

फर्मास्युटिकल्सले आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँ बराबरको १०० अंकित दरको ४२ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

जसमध्ये, कम्पनीले ४ लाख २९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित नियकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि छुट्याइएको छ । साथै, २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँड गरे पश्चात् बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री खुला गरिंदैछ ।

यो निष्कासन बन्द छिटोमा चैत ६ गते हुनेछ भने ढिलोमा चैत १६ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

सोपान फर्मास्युटिकल्सलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP B (Is)” प्रमाणपत्र प्रदान गरेको छ । “CARE-NP B (Is)” ले High risk of default regarding timely servicing of financial obligations भन्ने जनाउँदछ । रेटिङ्गको वैधता २०८३ वैशाख १५ गतेसम्म रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

सोपान फर्मास्युटिकल्ससेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा ३ लाख ४७ हजार ४९ जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

संगठित संस्था सम्बन्धी विवरण

सोपान फर्मास्युटिकल्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६६ भदौ ०५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो । यस कम्पनीलाई औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५ बमोजिम उद्योग विभागले उद्योग दर्ता प्रमाणपत्र प्रदान गरिएको हो ।

यस कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ८, विष्णुडोलमा रहेको र कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं जिल्ला, का.म.न.पा. – ३२, सुविधानगर, तिनकुनेमा रहेको छ । यसको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ८, विष्णुडोल तथा कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं जिल्ला, तिनकुने – ३२ मा रहेको छ र यी कार्यालयहरु मार्फत उद्योगबाट उत्पादित औषधी तथा अन्य उत्पादनहरुको बिक्री वितरणको कारोवार नेपाल राज्यभर रहेको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट २०८२ पौष मसान्तसम्म कम्पनीले उत्पादन गर्ने प्रत्येक ११६ औषधिको अलग अलग औषधि उत्पादन अनुज्ञापत्र प्राप्त गरेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

सोपान फर्मास्युटिकल्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६६ भदौ ५ गते पब्लिक कम्पनीको रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीले २०६६ माघ १२ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागबाट औषधि उद्योग स्थापनाका लागि सिफारिशपत्र प्राप्त गरेको थियो।

कम्पनीले प्रारम्भमा नवलपरासी जिल्लामा उद्योग स्थापना गर्ने लक्ष्य राखेको थियो । तर तोकिएको स्थान भौगोलिक रूपमा उपयुक्त नभएकाले उद्योग निर्माण कार्य अघि बढ्न सकेन । पछि विस्तृत अध्ययनपछि औषधि व्यवस्था विभागबाट स्थानान्तरण स्वीकृति लिएर उद्योग हाल ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–विष्णुडोलमा स्थापना गरिएको हो ।

उद्योग स्थापना प्रक्रिया पूरा गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सोपान फर्मास्युटिकल्स लिमिटेडले कम्पनी ऐन, २०६३ को दफा ६३ बमोजिम २०७२ चैत १६ गते रजिष्ट्रारको कार्यालयबाट कारोबार सञ्चालनको स्वीकृति प्राप्त गरेको हो।

त्यसैगरी, कम्पनीले मेडिकल अक्सिजन तथा नाइट्रोजन ग्यास उत्पादन तथा बिक्री वितरणका लागि २०७३ असार २० गते महालक्ष्मी नगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो। साथै, नेपाल सरकार घरेलु तथा साना उद्योग विभागबाट २०७३ असोज १२ गते मेडिकल अक्सिजन तथा नाइट्रोजन ग्यास उत्पादन गर्ने प्रयोजनका लागि उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरिएको थियो । हाल उक्त उद्योग सोपान अक्सिजन लिमिटेड नामक सहायक कम्पनीको रूपमा उद्योग विभागमा दर्ता भइसकेको छ।

उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी प्रक्रिया अन्तर्गत २०८२ साल पौष ९ गते सार्वजनिक सुनुवाइ सम्पन्न भइसकेको र सो सम्बन्धी प्रतिवेदन प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।

यसैगरी, कम्पनीले एलोपेथिक औषधि उत्पादनका लागि २०७३ चैत ३ गते महालक्ष्मी नगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसपछि २०७४ वैशाख १२ गते नेपाल सरकार उद्योग विभागबाट ठूला उत्पादनमूलक उद्योगको रूपमा एलोपेथिक औषधि उत्पादन गर्ने अनुमति प्राप्त गरेको हो।

त्यस्तै, कम्पनीले औषधि उत्पादनका लागि आवश्यक मुख्य तथा सहायक कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा औषधि विश्लेषणका लागि आवश्यक सन्दर्भ रसायन (Reference Chemicals) आयात गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट २०८२ पौष मसान्तसम्मका लागि सिफारिशपत्र प्राप्त गरेको छ।

धितोपत्र जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य प्राप्तिकालागि गर्नुपर्ने कार्यहरुकालागि आवश्यक पुँजी जुटाउन, कम्पनीको संचालनमा सर्वसाधारणको समेत प्रतिनिधित्व गराउन र सर्वसाधारणलाई सेयर जारी गरी पूर्ण रुपमा पब्लिक कम्पनीको रुपमा कम्पनीलाई संचालन गर्न आइपीओ जारी गरेको हो ।

वित्तीय अवस्था

सोपान फर्मास्युटिकल्सको अधिकृत पुँजी र जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

कम्पनीले चालु आवको पुससम्म ९० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा कम्पनीले २१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

त्यस्तै, २०८३-८४ मा १९ करोड १ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीको जगेडा कोषमा ३३ करोड ८० लाख रुपैयाँ रहेको छ ।

कम्पनीमा संस्थापक सेयरधनीहरुको हिस्सा ७५ प्रतिशत छ भने सर्वसाधारण हिस्सा २५ प्रतिशत हुनेछ  । यो कम्पनीमा सबैभन्दा धेरै हिस्सा सोपान मल्टिपलको छ । यसको ६३ लाख ६३ हजार ५०० कित्ता सेयर कम्पनीमा रहेको छ । ज्याङबो लामा शेर्पाको २ लाख १ हजार ५०० कित्ता सेयर छ ।

Leave Your Comment

Related News