CLI

आफ्नो भूमिकाको आत्मसमीक्षा गरौं !

काठमाडौं । आज नेपाली पत्रकारिता एक महत्वपूर्ण मोडमा उभिएको छ । सूचनाको तीव्र प्रवाह, डिजिटल माध्यमको विस्तार र पाठक/स्रोताको बदलिँदो रुचिले पत्रकारिताको स्वरुप मात्र होइन, यसको दायित्व र अभ्यासलाई पनि पुनःपरिभाषित गर्न माग गरेको छ । यसै सन्दर्भमा www.equitynepal.com ले  आफ्नो वार्षिकोत्सव मनाउँदै छ । यो अवसरमा हामी सञ्चार माध्ययममा पत्रकारिताप्रति सञ्चार कर्मीको भूमिका, जिम्मेवारीबारे आत्मसमीक्षा प्रारम्भ होस भन्ने चाहन्छौं ।

सामाजिक सञ्जालको तीव्र विस्तारले पत्रकारिताको नैतिक मापदण्ड, तथ्यपरकता र सम्पादकीय गुणस्तरमा चुनौति सिर्जना भएको छ । उत्तरदायी, तथ्यपरक र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध रहँदै चुनौतिलाई नयाँ अवसरमा बदल्नु हामी सबै मिडिया कर्मीको साझा दायित्व बनेको छ ।

नेपाली पत्रकारिता डिजिटल रुपान्तरणतर्फ अघि बढिरहेको छ । तर गुणस्तर, विश्वसनीयता, व्यावसायिकता र स्वतन्त्रताका क्षेत्रमा संरचनात्मक चुनौती बढ्दै गएको छ । राजनीतिक तथा आर्थिक दबाबका कारण खोजमूलक पत्रकारिता अपेक्षाकृत कमजोर भएको छ । पत्रकारिताले लोकतान्त्रिक दायित्व पूरा गर्न सकिरहेको छैन ।

अर्को, समाजका कमजोर, उपेक्षित र सीमान्तकृत वर्गका मुद्दा उजागर गर्दै ‘आवाजविहीनहरुको आवाज’ बन्ने पत्रकारिताको आदर्श पूर्ण रुपमा स्थापित हुन सकेको छैन । त्यसैले समाजिक जनजीवनमा परिवर्तन ल्याउन वा सकारात्मक प्रभाव छाड्न सक्ने परिणाममुखी पत्रकारिता अहिलेको आवश्यकता हो । पेशागत क्षमता विकास, नीतिगत स्पष्टता र नैतिक पत्रकारिताको अभ्यासले मात्र यो आवश्यकता पुरा गर्न सक्छ ।

सञ्चार माध्ययमले प्रतिस्पर्धात्मक र डिजिटल मिडिया वातावरणमा आफूलाई टिकाईराख्नका लागि गुणस्तर र प्रभाव मूल्याङ्कन  गराउनु पर्छ । यो पेशागत आवश्यकता मात्र होइन, संस्थागत दिगोपनाको आधार पनि हो । तर हामीले त्यसो गरिरहेका छैनौं ।

वास्तवमा पाठक प्रतिक्रिया  र सामाजिक असरको प्रभाव मुल्याङ्कनले मात्र पत्रकारिताको वास्तविक मूल्य निर्धारण गर्न सक्छ । पाठकको विश्वास कायम राख्न र बढाउन यो प्रक्रिया महत्वपूर्ण हुन्छ । विश्वास नै सञ्चार माध्यमको सबैभन्दा ठूलो सम्पत्ति हो । र त्यो गुणस्तर तथा प्रभावबाट मात्र मजबुत हुन्छ । तर पनि यसतर्फ संस्थागत ध्यान पुगेको देखिँदैन ।

सञ्चार संस्थाको भूमिका केवल सूचना सम्प्रेषणमा मात्र सीमित नभई त्यसको सामाजिक उपयोगिता र उत्तरदायित्वप्रति समेत केन्द्रित हुन्छ । गुणस्तरीय सामग्री उत्पादन, विश्वसनीय स्रोतको प्रयोग, र प्रभाव मूल्याङ्कनको नियमित अभ्यासले मात्र पत्रकारितालाई अझ सशक्त र परिणाममुखी बनाउन सक्छ । यो दिशामा अघि बढ्नु सबै सञ्चार संस्थाहरुको प्रमुख दायित्व हो ।

तेस्रो, हाम्रो सूचनाको स्रोत व्यवस्थापन कमजोर छ । आधिकारिक, स्वतन्त्र र विविध स्रोतको प्रयोग पर्याप्त नहुँदा समाचारहरुमा सीमित दृष्टिकोणमा आधारित हुने गरेका छन । सूचना पहुँचमा देखिने असमानता र पर्याप्त सहजीकरणको अभावका कारण कतिपय अवस्थामा प्रमाणित तथ्यको सट्टा अनुमान वा अपुष्ट जानकारीलाई नै आधार स्रोतका रुपमा प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

चौथो, नेपाली मिडियामा पत्रकारिता आचारसंहिताको कार्यान्वयनको अवस्था अपेक्षाकृत रुपमा कमजोर रहेको विभिन्न अध्ययन र अभ्यासहरुले देखाएका छन् । समाचार उत्पादन र सम्प्रेषण प्रक्रियामा निष्पक्षता, सन्तुलन र तथ्यपरकता जस्ता आधारभूत मूल्यहरु पूर्ण रुपमा पालना हुन नसकेको अवस्था छ ।

कहिलेकाहीँ तथ्य जाँचको अभ्यास पर्याप्त रूपमा संस्थागत नहुँदा अपुष्ट सूचना वा अपूर्ण सन्दर्भमा आधारित समाचार प्रसारण हुने अवस्था छ । यसले पत्रकारिताको विश्वसनीयतामा प्रत्यक्ष असर पारेको छ। तसर्थ, आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सम्पादकीय स्वतन्त्रता र पेशागत जिम्मेवारीको सुदृढीकरण सञ्चार कर्मीकोलागि अनिवार्य सर्त  बनेको छ ।

सारमा नेपाली पत्रकारिता आज परिवर्तनशील तर चुनौतीपूर्ण अवस्थामा रहेको छ । आर्थिक दिगोपनाको अभाव, नीतिगत जटिलता, सूचना पहुँचमा असमानता, र पेशागत दबाबले पत्रकारिताको गुणस्तर र स्वतन्त्रतामा प्रभाव पारेको छ । यस सन्दर्भमा नेपाली पत्रकारिताले आफ्नो आदर्शलाई व्यवहारमा रूपान्तरण गर्न अझै गहिरो आत्मसमीक्षा, संस्थागत सुधार र जिम्मेवार अभ्यास आवश्यक छ ।

Leave Your Comment

Related News