CLI

इतिहासकै कमजोर बन्यो इरानको मुद्रा, प्रतिबन्ध र युद्धको दोहोरो मार

काठमाडौं । अमेरिकी नाकाबन्दी र प्रतिबन्धको चापबीच इरानको राष्ट्रिय मुद्रा रियाल ऐतिहासिक न्यूनतम स्तरमा पुगेको छ । बुधबार खुला बजारमा एक अमेरिकी डलर बराबर १८.१ लाख रियालसम्म पुगेको मुद्रा पछि केही सुधार हुँदै करिब १५.४ लाखमा झरेको  अल ज जिराले जनाएको छ । एक वर्षअघि भने यही दर करिब ८ लाख ११ हजार  रियाल रहेको थियो, जसले पछिल्लो अवधिमा मुद्रा तीव्र रूपमा कमजोर भएको देखाउँछ।

विशेषज्ञहरूका अनुसार, बढ्दो मुद्रास्फीति, आर्थिक प्रबन्धन र अमेरिकी प्रतिबन्धहरू यस गिरावटका प्रमुख कारण हुन्। साथै, फेब्रुअरी अन्त्यतिर सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ।

अमेरिकाले इरानका दक्षिणी समुद्री मार्गहरूमा लगाएको नाकाबन्दीले आयात-निर्यात गतिविधिमा गम्भीर असर पारेको छ। यसको प्रभाव कम गर्न इरान सरकारले आवश्यक वस्तु आयातका लागि सीमा क्षेत्रका नियमहरू खुकुलो बनाउने, खाद्यान्न खरिदका लागि १ अर्ब डलर छुट्याउने तथा सस्तो दरमा विदेशी मुद्रा उपलब्ध गराउने नीति पुनः लागू गर्ने जस्ता कदम चालेको छ।

यसबीच, इरानको गैर–तेल व्यापारमा पनि उल्लेखनीय गिरावट आएको छ । गत वर्षको तुलनामा कुल व्यापार करिब १६ प्रतिशतले घटेको छ भने युद्ध सुरु भएपछि फेब्रुअरीपछि मात्रै करिब २९ प्रतिशतसम्म गिरावट आएको तथ्यांकले देखाएको छ।

हर्मुज जलडमरूमध्यमा बढ्दो तनावका कारण ढुवानी प्रभावित भएको छ। साथै बन्दरगाह, रेल, ऊर्जा र औद्योगिक संरचनाहरूमा भएका आक्रमणले व्यापार गतिविधि अझ कमजोर बनाएको छ।

तेल निर्यात क्षेत्रमा पनि इरानमाथि दबाब बढेको छ। अमेरिकाले जहाजहरूको कडाइका साथ जाँच, प्रतिबन्ध छल्न प्रयोग हुने ‘छायाँ ट्यांकर’ माथि कारबाही तथा चीनका रिफाइनरीहरूलाई कालोसूचीमा राख्ने जस्ता कदम चालेको छ।

इरानको करिब ९० प्रतिशत तेल खरिद गर्ने चीनसँगको व्यापारमा पनि गिरावट आएको छ। सन् २०२६ को पहिलो त्रैमासिकमा दुई देशबीचको व्यापार ५० प्रतिशतले घटेको बताइएको छ ।

त्यस्तै, संयुक्त अरब इमिरेट्स (UAE) सँगको व्यापार सम्बन्ध पनि कमजोर बनेको छ। इरानी संस्थाहरू बन्द गरिनुका साथै नागरिकहरूलाई देश छोड्न निर्देशन दिइएको छ। यसले इरानलाई टर्की, इराक र पाकिस्तानजस्ता छिमेकी देशहरूमाथि बढी निर्भर बन्न बाध्य बनाएको विश्लेषण गरिएको छ।

 

Leave Your Comment

Related News