CLI

स्ट्रेट अफ होर्मुजमा अड्किएका जहाज निकाल्ने अमेरिकाको घोषणा, इरानको कडा प्रतिक्रिया

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रभावित स्ट्रेट अफ होर्मुजबाट अड्किएका जहाजहरूलाई सुरक्षित रूपमा गाइड गरेर बाहिर निकाल्ने योजना घोषणा गरेका छन् । प्रोजेक्ट फ्रिडम नाम दिइएको उक्त अभियान सोमबारदेखि सुरु हुने बताइएको छ।

ट्रम्पका अनुसार यो कदम तटस्थ र निर्दोष देशहरूको हितका लागि चालिएको हो, जसका जहाजहरू हाल जलमार्गमा रोकिएका छन् । उनले सामाजिक सञ्जालमार्फत अमेरिका ती जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न तयार रहेको बताएका छन् । साथै, कुनै हस्तक्षेप भए बल प्रयोग गरेर जवाफ दिइने चेतावनी पनि दिएका छन्।

अमेरिकी सेनाको युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्ड/सेन्टकमले पनि उक्त अभियानमा सहयोग गर्ने जनाएको छ । यसमा युद्धपोत, दर्जनौं विमान र हजारौं सैनिक परिचालन हुन सक्ने जनाइएको छ, यद्यपि विस्तृत योजना सार्वजनिक गरिएको छैन।

यस कदमप्रति इरानले कडा प्रतिक्रिया दिएको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले अमेरिकी हस्तक्षेपलाई युद्धविराम उल्लङ्घन मानिने चेतावनी दिएका छन् । इरानले उक्त जलडमरू आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएको छ ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इरान तनावपछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन प्रभावित भएको छ । विश्व व्यापारका लागि महत्वपूर्ण मानिने यस जलमार्गबाट तेल तथा ग्यास ढुवानीमा अवरोध आएपछि अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव परेको छ।

यसैबीच, इरानले युद्ध अन्त्यका लागि प्रस्ताव पठाएको छ र कूटनीतिक वार्ताहरू जारी रहेको बताइएको छ। तर ट्रम्पले उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै तत्काल समाधानको सम्भावना कम देखाएका छन् ।

 

Leave Your Comment

Related News