CLI
Global College

खेलाडी रिटेन गर्दै एनपीएलका टीमहरु : कसको टिममा को परे?

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि फ्रेन्चाइज टोलीहरुले आफ्ना खेलाडी ‘रिटेन’  र ‘रिलिज’  गर्ने क्रम सुरु भएको छ। आगामी सिजनको अक्सन अघि टोलीहरूले आफ्नो नयाँ रणनीति अनुसार खेलाडीहरुको सूची सार्वजनिक गरेका हुन्।

 जनकपुर बोल्ट्स

पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सले यसपटक आफ्ना मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेर सबैलाई सरप्राइज दिएको छ। जनकपुरले यस सिजनका लागि ५ खेलाडीहरुलाई मात्र टोलीमा कायम राखेको छ। टोलीमा यथावत् रहने खेलाडीहरूमा कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्री रहेका छन्।

काठमाडौँ गोर्खाजद्वारा मार्की खेलाडीसहित ६ जना सुरक्षित

काठमाडौँ गोर्खाजले आगामी सिजनका लागि ६ खेलाडीलाई टोलीमा राखेको जानकारी दिएको छ। काठमाडौँले अक्सनअघि आफ्ना मार्की खेलाडी करण केसीसहित भीम सार्की, आदिल अन्सारी, राशिद खान, सन्तोष यादव र शाहाब आलमलाई टोलीमा सुरक्षित राखेको हो।

पोखरा एभेन्जर्समा ७ खेलाडी यथावत्

पोखरा एभेन्जर्सले आगामी संस्करणका लागि ७ खेलाडी रिटेन गर्दा ५ खेलाडीलाई रिलिज गर्ने निर्णय गरेको छ। पोखराले मार्की कुशल भुर्तेलसहित विपिन खत्री, सागर ढकाल, आकाश चन्द, अर्जुन कुमाल, किरण ठगुन्ना र दिनेश खरेललाई टोलीमा निरन्तरता दिएको छ। टोलीले कृष्ण पौडेल, त्रित राज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई भने फुकुवा गरेको छ।

चितवन राइनोज

चितवन राइनोजले आगामी तेस्रो सिजनका लागि सात खेलाडीलाई टोलीमा यथावत् राख्ने निर्णय गरेको छ। राइनोजले आफ्ना मार्की खेलाडी तथा कप्तान कुशल मल्ललाई निरन्तरता दिएको छ। मल्लसँगै दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमलसिंह ऐरी, रञ्जित कुमार र अर्जुन साउद पनि चितवनकै टोलीमा रहनेछन्।

कर्णाली याक्समा सोमपाल कामीलाई निरन्तरता

कर्णाली याक्सले राष्ट्रिय टिमका सदस्य सोमपाल कामीलाई लगातार तेस्रो सिजनका लागि मार्की खेलाडीको रूपमा निरन्तरता दिएको छ। सोमपाल सँगै गुलसन झा, नन्दन यादव, पवन सराफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी र दीपक डुम्रेलाई रिटेन गरिएको छ। नियम अनुसार अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई भने रिलिज गरिएको टोलीका निर्देशक ज्ञानेन्द्र मल्लले बताएका छन्।

सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरीसहित ७ खेलाडी

सुदूरपश्चिम रोयल्सले आफ्ना कप्तान दीपेन्द्रसिंह ऐरीसहित सात प्रमुख खेलाडीलाई टोलीमा रिटेन गरेको छ। आगामी सिजनमा सुदूरपश्चिमको तर्फबाट ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनास बोहरा, हेमन्त धामी र हिक्मत महरा मैदान उत्रिने पक्का भएको छ।

विराटनगर किंग्समा सन्दीप सुरक्षित, ६ खेलाडी रिलिज

विराटनगर किंग्सले आगामी यात्राका लागि ६ खेलाडीलाई टोलीमा कायम राखेको छ भने ६ खेलाडीलाई फुकुवा गरेको छ। विराटनगरले सन्दीप लामिछानेसँगै बशिर अहमद, लोकेश बम, नारायण जोशी, प्रतिश जिसी र सुवास भण्डारीलाई रिटेन गरेको छ। टोलीबाट नरेन भट्ट, सूर्य तामाङ, साहिल पटेल, शङ्कर राना, श्रवण किस्कु र आयुष न्यौपाने भने रिलिज भएका छन्।

Leave Your Comment

Related News