नारायणगढ–बुटवल सडक खण्ड विस्तार: ६ वर्षमा ५३ प्रतिशत भौतिक प्रगति, तेस्रो पटक म्याद थप

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गको नारायणगढ–बुटवल सडक खण्ड एशियन स्ट्यान्डर्ड हाइवे अन्तर्गत चार लेनमा विस्तार गर्न ठेक्का लागेको ६ वर्ष भइसकेको छ । ६ वर्षको अवधिमा उक्त सडक खण्डको विस्तार ५३ मात्र सम्पन्न भएको छ । निर्धात समयमा सडक विस्तार नहुँदा यस अघि दुई वर्ष विस्तारको म्याद थप भइसकेको छ । अहिले पुन एक वर्षका लागि निर्माणको म्याद थप भएको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि पुन एक वर्षका लागि तेस्रो पटक म्याद थप गरेको छ । नयाँ म्याद अनुसार ठेकेदारले आगामी २०८२ साउन ८ गतेसम्म सडक विस्तार गर्ने नयाँ कार्यादेश पाएको छ।

विस्तारको कामलाई निरन्तरता दिन म्याद थप गर्ने निर्णय भएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । ‘समयमा निर्माण हुन नसक्दा म्याद थप गर्ने निर्णय भएको छ। म्याद थप गर्ने नगर्नेबारे धेरै छलफल भयो, म्याद थप नगरी ठेक्का तोड्ने प्रक्रियामा गए फेरि नयाँ ठेक्का मार्फत निर्माण प्रक्रिया अघि बढाउँदा समय र लागत बढ्ने देखियो,’ उनले भने, ‘त्यसैले विकल्पमा म्याद थप गर्ने निर्णय भएको हो, अब फेरि निर्माण व्यवसायीलाई काममा ढिलाइ गर्ने छुट छैन ।’ उनका अनुसार दुवै साइड गरेर २६.५ किलोमिटर मात्र सडक कालोपत्र भएको छ ।

नारायणगढ–बुटवल सडकको ११३ किलोमिटर खण्ड विस्तार गर्न २०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । सुरुवाती ठेक्का सम्झौता अनुसार २०७९ साउन २२ भित्र दुई लेनको सडक चार लेनमा निर्माण गर्नु पर्ने थियो । तर उक्त अवधिसम्म सडक विस्तार अपेक्षिकृत रुपमा अघि बढ्न सकेको छ । कोभिड महामारी र समयमा आवश्यक उपकरणको अभाव विस्तारको कार्य प्रभावित भएको छ । पहिलो पटक तोकिएको मितिमा काम सम्पन्न नभएपछि आयोजना निर्देशनालय (एडीबी) ले दोस्रो पटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको हो । उक्त अवधिमा पनि काम नसकिएपछि केही दिन अघि आयोजना निर्देशनालय (एडीबी) ले एक वर्ष म्याद थप गरिएको छ। । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । निर्देशनालयले एक सय १३ किलोमिटर खण्ड दुई प्याकेजमा विभाजन गरी बोलपत्र आह्वान गरेको थियो। नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर यी दुई खण्डको निर्माणको जिम्मा कर्पोरेसनले पाएको हो । कर्पोरेसनले नारयाणगढ–दाउन्ने सडकखण्ड स्तरोन्नति गर्न ब्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल खण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको सडक कुल रकम १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ ठेक्का लागेको हो।

विस्तारमा ढिलाइ हुँदा उक्त सडक खण्ड भएर यात्रा गर्ने यात्रुले दैनिक सास्ती खेप्नु परेको छ । विस्तार थालिएको सडकमा जताततै भएको खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिमसमेत बढेको छ । साथै वर्षातको समय भएकाले गाडीहरु चिप्लने समस्या थपिएको छ ।

निर्माण सम्पन्न पछि यस्तो हुनेछ सडक

नारायणगढ–बुटवल सडक खण्डलाई तीन भागमा विभाजन गरी स्तरोन्नति गरिनेछ। सहर, जंगल तथा ग्रामीण र पहाडमा विभाजन गरिएको छ।

उक्त सडकमा सहरको हिस्सा २८.७ किलोमिटर छ। सहरी क्षेत्रमा सडक ४३ मिटरसम्म फराकिलो हुनेछ। विस्तारित सडक दुईतर्फ सात/सात मिटरको हुनेछ। एउटा लेन ३.५ मिटरको हुन्छ। बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइनेछ।

सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइनेछ। सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ निर्माण गरिनेछ। सडकको दायाँबायाँ साढे ६/६ मिटरको सर्भिस लेन हुनेछ। सडकको दायाँबायाँ दुई/दुई मिटरको फुटपाथ निर्माण गरिनेछ। स्थानीय पैदलयात्रीको सहजताका लागि फुटपाथ बनाइने भएको हो।

जंगल तथा ग्रामीण क्षेत्रमा सडकको चौडाइ २७ मिटरको हुनेछ। विस्तारित सडक दुईतर्फ सात/सात मिटरको हुनेछ। एउटा लेन ३.५ मिटरको हुन्छ। बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइनेछ। सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइनेछ। पहाडी क्षेत्रमा भने तीन लेनको मात्र सडक निर्माण गरिनेछ।

लेन साढे तीन मिटरकै हुनेछ। उकालो चढ्ने सवारीका लागि दुई लेन र ओरालो झर्ने सवारीका लागि एक लेन मात्र निर्माण गरिनेछ। सडकको भौगलिक जटिलताका कारण पहाडी क्षेत्रमा तीन लेन मात्र बनाउन लागिएको निर्देशनालयले जनाएको छ। यस भागमा सोल्डरको चौडाइ ०.७५ मिटर मात्र हुनेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार