काठमाडौं । लामो समयदेखि रोकिएको काठमाडौं चक्रपथको दोस्रो खण्ड (कलंकी–वसुन्धरा) विस्तारले अब ठोस गति लिने भएको छ। चीन सरकारले तयार गरेको विस्तृत डिजाइनमा नेपाल सरकारले सहमति जनाएसँगै निर्माण प्रक्रियाको सबैभन्दा महत्वपूर्ण चरण पार भएको हो।
८.२ किलोमिटर लामो यो सडकखण्ड चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार हुन लागेको हो। सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीले चीन पुगेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा डिजाइनको समीक्षा गरेपछि असार ३ गते दुवै पक्षबीच डिजाइन स्वीकृत भएको हो।
डीपीआर तयार गर्ने चिनियाँ सरकारी परामर्शदाता कम्पनीहरू चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी (सीसीसीसी), फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स र सियान फाङझोउ इन्जिनियरिङ कन्सल्टिङका प्रतिनिधिसँग संयुक्त रूपमा डिजाइनमा हस्ताक्षर गरिएको हो।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर मुकुन्दराज अधिकारीका अनुसार अब चीन सरकारले निर्माण कम्पनी छनोट गर्ने प्रक्रिया अघि बढाउनेछ। उनका अनुसार कम्पनी छनोटमा न्यूनतम १५ दिनदेखि अधिकतम ६० दिन लाग्ने अनुमान गरिएको छ। अधिकतम समय लागे पनि भदौभित्र निर्माण कम्पनी छनोट भइसक्ने र त्यसपछि छनोट भएको कम्पनी नेपाल आएर तयारी थालेपछि वर्षायाम सकिएलगत्तै निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ।
यस आयोजनाको सबैभन्दा आकर्षक संरचनामध्ये माछापोखरी र गोंगबु बसपार्कबीच विष्णुमती नदीमाथि निर्माण हुने ५६० मिटर लामो ओभरपास हो। ओभरपाससँगै नदीको दायाँ र बायाँ दुई–दुई लेनका ६४/६४ मिटरका नयाँ पुल निर्माण गरिनेछ। हाल रहेको पुल भत्काएर नयाँ संरचना निर्माण गरिने डिजाइनमा उल्लेख छ।
८ लेन सडक, चार आकाशे पुल
डिजाइनअनुसार कलंकीदेखि वसुन्धरासम्मको सडक ८ लेनको हुनेछ। प्रत्येक लेन ३.५ मिटर चौडा हुनेछ भने सडकको बीचमा ३ मिटर चौडाइको मेडियन रहनेछ। दुवैतर्फ २.७५ मिटर चौडाइको फुटपाथ निर्माण गरिनेछ। सडकमा सवारीसाधनको डिजाइन गति प्रतिघण्टा ५० किलोमिटर रहने गरी योजना तयार गरिएको छ।
पैदल यात्रुको सुविधाका लागि सीतापाइला, ढुंगेधारा, गंगाहल र ग्रिनसिटी अस्पताल नजिक चार वटा आकाशे पुल निर्माण गरिनेछ। यसका साथै १३ वटा कल्भर्ट र यात्रु चढाउने–ओराल्ने सुविधाका लागि ११ स्थानमा बस स्टप निर्माण गर्ने योजना छ।
आठ वर्षपछि अघि बढ्यो विस्तार प्रक्रिया
कलंकी–वसुन्धरा सडक विस्तारका लागि नेपाल र चीनबीच सन् २०१८ मै सम्झौता भएको थियो। सम्झौताअनुसार नेपालले साइट क्लियरेन्स गर्ने र चीनले अनुदानमा सडक निर्माण गर्ने सहमति भएको थियो।
सरकारले २०७६ सालमै आवश्यक रुख कटान सम्पन्न गरे पनि कोभिड–१९ महामारी, कर छुटसम्बन्धी कानुनी व्यवस्था तथा अन्य प्रशासनिक प्रक्रियाका कारण डिजाइन स्वीकृत हुन नसक्दा आयोजना लामो समयसम्म रोकिएको थियो। पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलंकी सडकमा साइट क्लियरेन्स पूरा नभई काम सुरु गर्दा ढिलाइ भएको अनुभवपछि चिनियाँ पक्षले यसपटक सबै पूर्वतयारी पूरा नभएसम्म डिजाइन अगाडि नबढाउने अडान लिएको थियो।
यसबीच २०८२ फागुनमा मन्त्रिपरिषद्ले आयोजनाका लागि आवश्यक कर छुट दिने निर्णय गरेपछि कानुनी अवरोध हटेको थियो। त्यसपछि गत वैशाखमा नेपाल र चीनबीच सहायतासम्बन्धी औपचारिक सम्झौतामा तत्कालीन पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हस्ताक्षर गरेका थिए।
यसअघि सन् २०२४ मा पनि दुवै देशबीच आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र आदानप्रदान भएको थियो।
करिब साढे १२ अर्ब रुपैयाँ लागत
चक्रपथको दोस्रो खण्ड विस्तारका लागि ५६७.१३ मिलियन चिनियाँ युआन ९आरएमबी० अर्थात् करिब १२ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
डिजाइन स्वीकृत भएसँगै लामो समयदेखि अन्योलमा रहेको चक्रपथ विस्तार आयोजनाले अब निर्माण चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। आयोजना सम्पन्न भएपछि काठमाडौंको पश्चिम–उत्तरी क्षेत्रमा सवारी चाप व्यवस्थापन, यात्रा समय घटाउने तथा चक्रपथको समग्र क्षमता विस्तारमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ।


