CLI

नेप्सेको सीईओ नियुक्ति प्रक्रिया सुरु, आवेदन खुला

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि आवेदन खुला गरेको छ । सीईओ छनोटका लागि सरकारले गठन गरेको सिफारिस समितिले सूचना जारी गरेर आवेदन माग गरेहो हो ।

नेप्सेमा सीईओ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता भएका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन भनिएको छ ।

आवेदन दिन आवश्यक योग्यता तथा अनुभवमा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको नेपाली नागरिक हुनुपर्ने छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा (२.२) र दफा (२.३) बमोजिम अयोग्य नभएको हुनुपर्ने छ । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ को खण्ड (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेका, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ४ ले तोके बमोजिम देहायको अयोग्यता नरहेको हुनुपर्ने छ ।

आवेदन साथ नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना ३ (तीन) प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ । खामबन्दी प्रस्तावको खाम बाहिर आवेदकको नाम र “नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरी दस्तखत गरेको हुनुपर्नेछ । यसका लागि ५ हजार दस्तुर बुझाउनु पर्ने छ ।

Leave Your Comment

Related News