काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को जलविद्युत् कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार जलविद्युत् कम्पनीहरुको नाफा वृद्धि भएको छ।
कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार १०५ वटा जलविद्युत् कम्पनीहरुले ११ अर्ब १४ करोड ८२ लाख ३३ हजार रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो आवको तुलनामा १७५३ प्रतिशत धेरै हो। अघिल्लो आवमा यी कम्पनीहरुले ६० करोड १५ लाख ८२ हजार रुपैयाँ मात्र कमाएका थिए।
नाफाको आधारमा साहस ऊर्जा पहिलो स्थानमा रहेको छ। कम्पनीले १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशत बढी हो। दोस्रो स्थानमा सोलु हाइड्रोपावर रहेको छ। कम्पनीको नाफा १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने माउन्टेन इनर्जी नेपालले ७९ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ।
घाटाबाट उकासिएर नाफामा कमएका कम्पनीहरु
अघिल्लो वर्ष घाटामा रहेका २१ वटा जलविद्युत् कम्पनीहरुले गत वर्ष राम्रो सुधार गर्दै नाफा कमाउन सफल भएका छन्। यसमा सबैभन्दा ठूलो सुधार अपर तामाकोशी हाइड्रोपावरले गरेको छ। अघिल्लो वर्ष ३ अर्ब ६८ करोड रुपैयाँ घाटामा रहेको यो कम्पनीले गत वर्ष ९२ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ।
त्यस्तै बालेफी हाइड्रोपावरले अघिल्लो वर्षको ४३ करोड ४५ लाख रुपैयाँ घाटाबाट गत वर्ष २८ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ। मध्य भोटेकोशी जलविद्युत्ले पनि अघिल्लो वर्षको घाटा पूरा गर्दै यस वर्ष १६ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ। यसका साथै सान्जेन जलविद्युत्, पिपुल्स पावर र न्यादी हाइड्रोपावर जस्ता कम्पनीहरु पनि घाटाबाट उकासिएर नाफा कमाउन सफल भएका छन्।
नाफा कमाए पनि अघिल्लो वर्षभन्दा घट्न पुगेका कम्पनीहरु
अघिल्लो वर्षको तुलनामा कमाइ घटेका कम्पनीहरुको संख्या १७ रहेको छ। यसमा अरुण भ्याली हाइड्रोपावरको नाफा ६८ प्रतिशतले घटेर १३ करोड ७८ लाख रुपैयाँमा झरेको छ। त्यस्तै अरुण काबेली पावरको नाफा ५३ प्रतिशतले घटेर ७ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ भने रिडी पावर कम्पनीको नाफा पनि ६६ प्रतिशतले घटेर ४ करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ। यसका साथै सानिमा माई हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र कालञ्चोक हाइड्रोपावर जस्ता कम्पनीहरुको नाफा पनि गत वर्षभन्दा कम भएको छ।
घाटामै रहेका कम्पनीहरु
हाइड्रोपावर क्षेत्रको समग्र नतिजा राम्रो देखिए पनि यस त्रैमासमा २४ वटा कम्पनीहरु भने घाटामै रहेका छन्। यस अवधिमा सबैभन्दा ठूलो घाटा रसुवागढी हाइड्रोपावरले व्यहोरेको छ, जसको घाटा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै त्रिशूली जलविद्युत्ले १३ करोड १६ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरले ११ करोड ९१ लाख रुपैयाँ, हिम स्टार ऊर्जाले ११ करोड ८ लाख रुपैयाँ र दरामखोला हाइड्रो इनर्जीले १० करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेका छन्। यसबाहेक मोदी इनर्जी, शिखर पावर र एशियाई हाइड्रोपावर लगायतका कम्पनीहरु पनि यस त्रैमासमा घाटामै सीमित भएका छन्।



