स्वदेशमा नै रोजगारी श्रृजना गरी युवा पलायन रोक्ने  गरि काम भइरहेको छ – अर्थमन्त्री पुन

Prabhu

काठमाडौं ।अर्थमन्त्री बर्षमान पुनले आर्थिक  क्षेत्रमा संलग्न निकायमा पारदर्शिता र व्यावसायिक विकास गरी सुशासन कायम गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्

स्वदेशमा नै रोजगारी श्रृजना गरी युवा पलायन रोक्ने गरी बजेटमा कार्यक्रम तर्जुमा गर्ने उनले बताए ।

मन्त्री पुनले बजेट प्रणाली र आर्थिक सुधारका लागि चालिएका कदमलाई तिव्रताका साथ कार्यान्वयन गरिने जानकारी दिँदै अन्तराष्ट्रिय प्रतिबद्धताअनुसार दिगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक ऋणलाई उत्पादनमूलक र बढी प्रतिफल दिने क्षेत्रमा परिचालन गर्ने पनि बताए  ।

अर्थमन्त्री पुनले भने सत्ता साझेदार पाँच राजनीतिक दलका तर्फबाट जारी न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पलाई मूलमन्त्र  मानेर जनताको तीव्र विकासको चाहना पूरा गर्न र समृद्धिको यात्रालाई गति दिने गरि सरकार काम गरिरहेको छ । उनले सांसदले उठाएका प्रश्न र सुझावलाई नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्ने विषयप्रति सरकार संवदेनशील रहेको बताए ।

मन्त्री पुनले स्वदेशी र बाह्य पूँजी परिचालनका लागि अनुकूल वातावरण निर्माणका साथै आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै सरकारको वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरी अर्थतन्त्र चलायमन गराउन थप प्रयत्न गरिने बताए ।

सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको राजस्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहायताका नवीन स्रोतको पहिचान तथा परिचालन गरिने मन्त्री पुनको भनाइ छ ।

पूँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानुन र प्रक्रिया सुधार अघि बढाइने उल्लेख गर्दै उनले निर्माणाधिन पूर्वाधार आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, आयोजना प्रमुखसँग कार्यसम्पादन करार गर्ने र अधुरा आयोजनाको निर्माणमा स्रोत सुनिश्चित गरेर मात्र नयाँ आयोजना सुरु गरिने बताए ।

सहुलियतपूर्ण हरित वित्त परिचालनको सम्भावनालाई अधिकतम उपयोग गरिनेछ, यसका लागि उपयुक्त आयोजना र कार्यक्रम विकास गरिनेछ । जलवायु परिवर्तनबाट देखिएका नकारात्मक प्रभाव कम गर्न जोड दिइनेछ मन्त्री पुनले भने अन्तरराष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन रणनीति कार्यान्वयन गरिनेछ ।

कृषिलाई आर्थिक वृद्धि, रोजगारी श्रृजना, गरिबी निवारण, औदिगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्को प्रमुख क्षेत्रका रूपमा विकास गरिने उनको भनाइ रहेको छ ।

मन्त्री पुनले जनताको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने, विश्वविद्यालयमा विध्यमान समस्याको तत्काल समाधान गरी उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने तथा शिक्षा र रोजगारीका बीचमा सन्तुलन कायम गर्ने गरी बजेट तर्जुमा गरिने विश्वास दिलाए ।

सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने, स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थोपचार सहज बनाउने र सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न जोड दिइनेछ मन्त्री पुनले भने आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै स्वदेश तथा विदेशमा ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइनेछ ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक स्रोतको उचित व्यवस्थापन गरिने उल्लेख गर्दै मन्त्री पुनले सरकारको स्रोत र साधनको सन्तुलित वितरणमा यथेष्ट ध्यान दिइने बताए । मन्त्री पुनले उपलब्ध स्रोत र साधनको न्यायोचित वितरण गरी सामाजिक न्याय कायम गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार