मन्त्रिपरिषदबाट तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान

Prabhu

काठमाडौं एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविधुत आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाका लागि जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान गरेको छ ।

सरकारले आयोजनाका लागि तनहुँमा करिब पाँच सय ७७ र चितवनमा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो । केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा प्राप्त गर्न स्वीकृति दिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताए।

तनहुँ हाइड्रोपावरले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो । सरकारले जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गरेसँगै आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्ने श्रेष्ठले बताए ।

उनले भने, “जग्गा प्राप्तिका लागि स्वीकृति पाउन ढिलाइ भइरहेको थियो, सरकारको निर्णयसँगै अब जग्गा अधिग्रहणको कामलाई अघि बढ्ने छ ।”

आयोजनाका प्रमुख श्यामजी भण्डारीले अब प्रारम्भिक अधिकृत तोकेर काम अगाडि बढाइने जानकारी दिए । उनले भने, “सरकारको निर्णयसँगै जलाशय क्षेत्रका लागि आवश्यक जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्नेछ ।”

तल्लो सेतीको अडिट सुरुङ निर्माणका लागि हालैमात्र सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि आरके इञ्जिनियरिङ एण्ड एशोसिएटससँग खरिद सम्झौतामा सम्झौता भएको छ ।

आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको भण्डारीको भनाइ छ । अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङपछि अन्य कामका लागि प्रयोगमा आउने भण्डारीको भनाइ छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने भण्डारीले बताए ।

तल्लो सेती जलविधुत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएको छ । “दुवै दाताहरु यसका लागि सकारात्मक छन्”, उनले भने ।

उक्त आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ । तनहुँ जलविधुत आयोजनाको एक सय ४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविधुत आयोजना निर्माण गर्न लागिएको हो ।

तल्लो सेती जलविधुत आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत परियोजना प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले २०७८ असारमा प्रतिवेदन बुझाइसकेको छ ।

कम्पनीले आयोजनाको विधुत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत-निप्पन कोई जापान जेभीसँग २०७५ चैतमा खरिद सम्झौता भएको थियो ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत बिधुतगृहमा खसाली विधुत उत्पादन गर्ने योजना रहेको छ ।

आयोजनाबाट बन्दीपुर–६, व्यास–१३ र १४, देवघाट–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ ।

देवघाट वडा नं ४ गाईघाटमा अर्धभूमिगत विधुतगृहको निर्माण गरी विधुत उत्पादन गरिने छ । उत्पादित विधुतलाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय बिधुत प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किमी प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।

अर्धजलाशययुत्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलासय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विधुत उत्पादन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार