केयूसँगको सहकार्यमा बुद्धभूमि हाइड्रोले ग्रीन हाइड्रोजन उत्पादन गर्ने

Prabhu

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि सम्झौता गरेको छ । सो ग्रीन हाइड्रोजन परियोजना तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन हुने भएको छ  ।

दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा  कयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक डा राम लामा तथा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, कम्पनीका निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन्  ।
अध्यक्ष श्रेष्ठले जापानमा ग्रीन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर उत्पादनको योजना बनाएको बताए । उनले प्रारम्भिक चरणमा हालको क्षमताअनुसार सफलतापूर्वक ग्रीन हाइड्रोजन उत्पादन गर्नसके उत्पादन बढाउँदै लैजाने पनि बताए । “पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र विजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्छौँ, त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजनामा छौँ”, उनले भने । उनका अनुसार उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गरिने छ ।

विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयूले २०७९ चैत १९ गते औपचारिक रुपमा ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो । केयूलाई नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको छ ।

निगमकै सहयोगमा कात्तिकमा कोरियाबाट हुण्डाइको नेक्सो कार भित्र्याउनुका साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको छ ।

अध्ययन तथा अनुसन्धान (परीक्षण)का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नेछ । यस्तै केयूमा स्थापित हाइड्रोजन स्टेसनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खर्च हुने छ । केयूमा भित्र्याइएको हुण्डाइको नेक्सो कारमा छ किलोग्राम हाइड्रोजन भर्न सकिने र उक्त हाइड्रोजनबाट छ सय ५० किलोमिटर दुरीको यात्रा गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार