टेलिकमका निलम्बित निर्देशक सुनील पौडेल कारागार चलान

Prabhu

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल कारागार चलान भएका छन् ।

गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका निलम्बित निर्देशक पौडेललाई बुधबार विशेष अदालतले थुनामा पठाउने थुनछेक आदेश गरेको हो। तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त आदेश गरेको विशेष अदालतले जनाएको छ।

नेसनल पेमेन्ट गेटवे उपकरण खरिदमा गत शुक्रबार विशेष अदालतबाट भ्रटाचार गरेको ठहर भएका पौडेलविरुद्ध गत आइतबार अख्तियारले भ्रटाचारसम्बन्धी अर्को मुद्दा दायर गरेको हो ।

पौडलले गैरकानुनी रूपमा २३ करोड ७५ लाख ४६ हजार तीन सय २४ रुपैयाँ सम्पत्ति आर्जन गरेको अरोपमा अख्तियारले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियारले अनुसन्धानका लागि पौडेललाई गत माघ १० गते पक्राउ गरेर हिरासतमा राखेको थियो ।

अख्तियारले पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी स्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार तीन सय २४ रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेकाले त्यति नै बिगो कायम गरी सोहीबमोजिम जरिबाना असुलउपर गर्न मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको  थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार