ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा. महतको आग्रह

Prabhu

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् ।

आजदेखि यहाँ सुरु भएको लगानी सम्मेलनको सत्रलाई सम्बोधन गर्दै उनले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताए ।

उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने कानुनी व्यवस्था रहेको लगायतका कारण विदेशीहरूलाई नेपालमा ठूलो मात्रामा लगानी ल्याउन उनले आग्रह गरे ।

पूर्वअर्थमन्त्री डा. महतले पार्टीहरुबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ता अन्योलमा रहनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

“विचारधारा फरक भए पनि हामी एकताबद्ध भएर काम गर्छौँ । सरकारमा भए पनि नभए पनि हाम्रो धारणा एउटै हुन्छ, नीति र कानुनमा स्थिरता छ,” उनले भने, “लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ । लगानीका धेरै अवसर छन्, त्यसैले अवसरको सदुपयोग गर्न आग्रह गर्छौँ ।”

डा. महतले जलविद्युत् लगानीको मुख्य क्षेत्र भएको उल्लेख गरे । “बजारको समस्या छैन । भारतले १० हजार मेगावाट लिने गरी दीर्घकालीन सम्झौता गरेको छ भने बङ्गलादेश पनि विद्युत् लैजान इच्छुक छ,” उनले भने ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लाने गरी गत पुस १९ गते दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो ।

डा. महतले पर्यटन, कृषि र सूचना प्रविधि लगानीकर्ताका लागि राम्रो क्षेत्र भएको उल्लेख गरे । “फरक फरक तापक्रमको भूगोल छ । सांस्कृतिक पक्षमा उस्तै विविधता छ,” उनले पर्यटनमा लगानी गरेर मुनाफा कमाउन सकिने बताए ।

“नेपाल अग्र्यानिक उत्पादनका लागि हब हो । कृषिमा लगानी गर्न चाहनेका लागि नेपालमा स्वागत छ । यो उत्कृष्ट गन्तव्य हो,” उनले भने, “सूचना प्रविधि पनि लगानीको क्षेत्र हो, कोभिडपछिको निर्यातले यसको पुष्टि गरेको छ ।”

सूचना प्रविधि क्षेत्रले गत वर्ष ६७ अर्बको सेवा निर्यात गरेको तथ्याङ्क छ । “हामीकहाँ सबैभन्दा तीव्र रूपमा विकास भएको क्षेत्र सूचना प्रविधि हो । यो क्षेत्रलाई प्रोत्साहन गर्न ५० प्रतिशत कर छुट गरिएको छ,” डा महतले भने ।

उनले धेरैजसो उत्पादनको बजार नेपाल नै भएकाले लगानीकर्ता अलमलमा नपर्न आग्रह गरे । नेपालमा व्यक्तिगत रूपमा सानो लगानीभन्दा व्यावसायिक रूपको ठूलो लगानीको खाँचो रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार