करिब ८ खर्ब निक्षेप थपियो बैंक तथा वित्तीय प्रणालीमा

काठमाडौं ।  बैंक तथा वित्तीय प्रणालीमा पछिल्लो एक वर्षमा करिब ८ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको फागुन मसान्तमा बैैंक तथा वित्तीय संस्थाको निक्षेप ५४ खर्ब १४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ थियो । यो सँगै चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ खर्ब ७२ अर्ब ९९ करोड १० लाख रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको निक्षेप ५४ खर्ब ७१ अर्ब ८४ करोड ५० लाख रुपैयाँ पुगेको छ । पछिल्लो एक वर्षमा ७ खर्ब ५ अर्ब ५९ करोड रुपैयाँ निक्षेप बढेको छ । गत आर्थिक वर्षको फागुन मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ७१ अर्ब २८ करोड ६० लाख रुपैयाँ थियो । विकास बैंकहरूको निक्षेप गत फागुन मसान्तमा ५ खर्ब ९३ अर्ब ५८ करोड १० लाख रुपैयाँ थियो । यो निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ अर्ब ३ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तमा ५ खर्ब ३४ अर्ब ५४ करोड ८० लाख रुपैयाँ निक्षेप थियो । फाइनान्स कम्पनीहरूको निक्षेप गत फागुन मसान्तमा १ खर्ब २२ अर्ब २१ करोड ९० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ३९ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको फागुनमा फाइनान्स कम्पनीहरूको निक्षेप १ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ थियो ।

निक्षेप रकम बढ्दा निक्षेपा खाताको संख्यामा समेत बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा निक्षेप खाताको संख्या ५१ लाख ९५ हजार दुई सय छ वटाले बढेर ५ करोड ४४ लाख ७ हजार २० पुगेको छ । गत आर्थिक वर्षको फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप खाता संख्या ४ करोड ९२ लाख ५ हजार ५ सय १४ वटा थियो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप खाता संख्या ४२ लाख ४७ हजार ५ सय ८ वटा बढेको छ । गत आर्थिक वर्षको फागुन महिनामा चार करोड २३ लाख ६० हजार एक सय ६५ निक्षेप खाता रहेकोमा यस वर्ष फागुनमा ४ करोड ६६ लाख ७ हजार ६ सय ७३ वटा पुगेको छ ।

विकास बैंकहरूको निक्षेप खाता ८ लाख ४४ हजार पाँच सय ३६ ले बढेर गत फागुनमा ६९ लाख ४१ हजार आठ सय ८६ वटा पुगेको छ । एक वर्षअघि फागुन मसान्तमा विकास बैंकहरूको निक्षेप खाता संख्या ६० लाख ९७ हजार ३ सय ५० थियो । फाइनान्स कम्पनीहरूको निक्षेप खाता संख्या गत फागुनमा ८ लाख ५१ हजार १ सय ६१ वटा छ । जुन एक वर्षअघिको तुलनामा १ लाख ३ हजार १ सय ६२ ले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तमा फाइनान्स कम्पनीहरूको निक्षेप खाता संख्या ७ लाख ४७ हजार ९ सय ९९ थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार