आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र ५७ खर्बको अर्थतन्त्रको आकार सहित तथ्यांक सार्वजनिक

Prabhu

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । योसँगै गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा एक दशमलव ९२ प्रतिशतले वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ९५ प्रतिशत थियो । त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धिदर पाँच दशमलव ६३ प्रतिशत थियो ।

विभागले यस आर्थिक वर्षको अन्तिमसम्म नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रुपैयाँ रहेको प्रारम्भिक तथ्यांक आएको छ । आर्थिक वर्ष २०७८/७९ मा मुलुकको अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रुपैयाँ थियो ।

औद्योगिक क्षेत्रका बृहत् दुई समूह कृषि र गैरकृषि क्षेत्रको वृद्धिदरमार्फत वर्गीकरण गरिएको छ । यस आर्थिक वर्षमा कृषि क्षेत्रको तीन दशमलव शून्य पाँच प्रतिशत र गैरकृषि क्षेत्रको तीन दशमलव ७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर दुई दशमलव १३ प्रतिशत रहने अनुमान गरिएको प्रवक्ता डा.हेमराज रेग्मीले बताए ।

औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गर्ने गरिन्छ । चालू आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव शून्य तीन प्रतिशत, एक दशमलव २० प्रतिशत र चार दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्षमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ७२ प्रतिशत, एक दशमलव ४० प्रतिशत र दुई दशमलव ३६ प्रतिशत रहने अनुमान गरिएको थियो । त्यसैगरी, अन्तिम विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ५० प्रतिशत, १० दशमलव ७९ प्रतिशत र पाँच दशमलव ३२ प्रतिशत कायम हुने तथ्यांक सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार