९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

Prabhu

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँ लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९ सय ८७ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए।

“यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, उनले भने , “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए ।

नेवा संस्थाको ३८ लाख ७१ लाख ३ सय ७ रुपैयाँ, मङ्गला गाउँपालिकाको २७ लाख रुपैयाँ अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार ४ सय ६८ रुपैयाँ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप ३ लाख ७५ हजार २ सय १२ रुपैयाँ नगद सङ्कलन गरिएको थियो । त्रिभुवन मङ्गला मावि र ¥यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो ।
नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् । संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार