बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो

Prabhu

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन्।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन्।

जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाफ गर्दै काम भइरहेको धारणा उनको छ।

‘सहकारीहरू बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यताविपरीत काम गर्न थाले। बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरूले नै समाधान गर्ने हो। सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो। सरकारले समस्या समाधान गर्ने होइन,’ उनले भने।

सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने मन्त्री अधिकारीकाे धारणा छ।‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन,’ उनले भने।लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ।अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए।

त्यस्तै कार्यक्रममा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे। उनले सहकारी अभियान भूमरीमा परेको बताए।

अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने बताए ।
‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उनले भने ।

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना हुनुको एउटा कारण रहेको बताइन्। उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति अनरसिप महसुस गर्नुपर्ने धारणा राखिन्।

त्यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे। उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे। उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रूपमा हेरिएको चित्रण गरे।

यस्तै, उद्घाटन सत्रको समापन कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरेको बताए। उनले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार