सहकारीले संकलित पुँजीलाई उचित परिचालन गरेनन्: रजिष्ट्रार घिमिरे

Prabhu

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पुँजी संकलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पुँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन ।

नियमाकीय दृष्टिकोणमा: ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्षणा समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए । लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रूपमा गर्नुपर्ने उनको भनाई छ ।

सहकारी क्षेत्रलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लागि सशक्त आधारशिलाको रूपमा स्थापना गर्नको लागि संविधानले नै अंगिकार गरेको छ । तर अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा समस्याहरू धेरै देखिएको उनको बुझाई छ ।

‘सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना प्रशस्तै छ । अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान छ । ९३ हजार ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’ उनले भने ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा बहन नगर्ने, बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासी, संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे ।

कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विना धितो कर्जा प्रवाह, कर्जा वर्गीकरणमा प्रभावकारिता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्‍याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए ।

समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिबद्ध हुँदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रूपमा आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरूक सदस्यहरूले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ ।

उक्त टिप्पणीकर्ताको रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिना धिता ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए ।

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता दिने प्रक्रिया रोक्नु पर्छ । यसरी दर्ता भएका सहकारी संस्थाहरूले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औँल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाई छ ।

त्यस्तै अधिकांश सहकारी संस्थाहरूको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा पारिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । ’

कार्यक्रममा सहभागीबाट हरेक सहकारी प्रकृति फरक भए पनि मूख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाई छ । सात वर्ष पहिले ऐनमा गरेको व्यवस्था कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औँल्याए । त्यसैगरी, उक्त प्रस्तुतिको सहजकताको रूपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार