तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु

काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको जलबिदुत आयोजनाको संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा  शिलान्यास गरेका छन्  । यो आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेको छ  ।

यो आयोजना अध्यक्ष लिम्बुले आगामी चार वर्षमा आयोजना पुरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए । उनले भने,“ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु् हो ।

जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस् ।” आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उनले आग्रह गरे ।

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मुल्य वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ निर्धारण गरिएको छ ।

आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार