बैंक तथा वित्तीय संस्थाद्धारा ३५ खर्बको अन्तरबैंकिङ कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबीच एक आपसमा अल्पकालीन अन्तरबैंक कारोबार रकम ३५ खर्ब रूपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा ५४ वटा बैंक तथा वित्तीय संस्थाले ३५ खर्ब ८ अर्ब ४ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ खर्ब २५ अर्ब ७१ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल अन्तरबैंक कारोबार रकम २९ खर्ब ८३ अर्ब ६९ करोड रूपैयाँ थियो ।

यस अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ३१ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । वाणिज्य बैंकहरूले गरेको यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ खर्ब ७० अर्ब ५४ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल २७ खर्ब १५ अर्ब ९० करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा विकास बैंक र वित्तीय संस्थाले भने ३ खर्ब २१ अर्ब ६० करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ अर्ब ८१ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंक र वित्तीय संस्थाले कुल २ खर्ब ६६ अर्ब ७९ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबार बढेपछि यसको असर बैंकिङ क्षेत्रको ब्याजदरमा परेको छ । सोही आधारमा बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ चैतमा ७.०१ प्रतिशत रहेकोमा २०८० चैतमा ३.१० प्रतिशत कायम भएको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरूको १०.४१ प्रतिशत र वित्तीय संस्थाको १२।०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.४८ प्रतिशत थियो । २०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरूको ७.५८ प्रतिशत र वित्तीय संस्थाको ८.८२ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार २०७९ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १० .५५ प्रतिशत, विकास बैंकहरूको १२.०७ प्रतिशत र वित्तीय संस्थाको १३.३६ प्रतिशत छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत रहेकोे थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार