CLI
Global College

राजेन्द्रलाई हटाएर सिन्धु विकास बैंकको अध्यक्षमा निभा श्रेष्ठ

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्ष नियुक्ति विवादित बनेको छ । लामो समयदेखि बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका राजेन्द्र कुमार श्रेष्ठलाई विस्थापित गर्दै निभा डङ्गोल श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष चयन गरिएको हो ।

काभे्को बनेपामा कर्पोेरेट कार्यालय रहेको यो बैंकले नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ हाउस, नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, कम्पनी रजिस्टर्डको कार्यालय र एनआईएमबीएस क्यापिटल लिमिटेड समेतलाई बोधार्थको रूपमा उल्लेख गरी यही असार १४ गते गरेको पत्राचारअनुसार तत्कालीन अध्यक्ष श्रेष्ठ अध्यक्ष पदबाट हटेका हुन् । बैंकले उक्त दिन धितोपत्र बोर्डलाई पत्रमार्फत दिएको जानकारीमा भनिएको छ, ‘यस सिन्धु विकास बैंक लि।को सञ्चालक समितिका तत्कालीन अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठ यस विकास बैंकको अध्यक्ष÷सञ्चालक पदमा बहाल नरहनु भएकोले यस बैंकको मिति २०८१÷०३÷१३ गते सम्पन्न सञ्चालक समितिको ४३२औँ बैठकको निणर्यद्वारा श्रीमती निभा डङ्गोल श्रेष्ठलाई यस बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछु ।’ बैंकले सार्वजनिक गरेको यो पत्रको बेहोरामा तत्कालीन अध्यक्ष श्रेष्ठले राजीनामा दिएको कुनै कुरा प्रस्टसँग उल्लेख गरेको छैन । पत्रमा खालि तत्कालीन अध्यक्ष श्रेष्ठ अध्यक्ष पदमा बहाल नरहेको र उक्त दिन बसेको सञ्चालक समितिको चार सय ३२औँ बैठकले निभा डंगोल श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मतरूपमा चयन गरेको कुरा मात्र उल्लेख गरिएको छ ।

तत्कालीन अध्यक्ष श्रेष्ठको कार्यकालमा बैंकभित्र भएको चरम बेथिति, अनियमितता भए सँगै राष्ट्र बैंकले अध्यक्षपदबाट हट्न मौखिकरूपमा दिएको निर्देशन नै प्रमुख कारण भएको बैंक स्रोतले जानकारी दियो । उनको पछिल्लो समय धेरैवटा बैंकसँग कारोबार बिग्रिएको समेत पाइएको छ ।

तत्कालीन अध्यक्ष श्रेष्ठले आफू अध्यक्षपदबाट हटेपछि निभा डंगोल श्रेष्ठलाई सर्वसम्मतरूपमा अध्यक्ष बनाइएको छ । अध्यक्ष निभा तत्कालीन अध्यक्ष श्रेष्ठकै नातेदार अर्थात् साली हुन् । बैंकले अध्यक्षको रूपमा राजेन्द्र हटेको र निमा डंगोल श्रेष्ठ अध्यक्ष रहेको तथ्य असार १४ गते नै सार्वजनिक गरेको थियो । बैंकको आधिकारिक वेबसाइटमा भने यही असार २३ गतेसम्म पनि सञ्चालक समितिमा अध्यक्ष पद खाली देखाइएको भने सञ्चालकहरूमा निभा डंगोल श्रेष्ठ, दामोदरप्रसाद सुवेदी, सञ्जीव प्रधान, वसन्तकुमार कटुवाल, समिर कक्षपति र भरतकुमार कार्कीलाई देखाइएको छ । ती सञ्चालकहरूमा कार्की स्वतन्त्र सञ्चालक रहे पनि बाँकी भने संस्थापक सञ्चालक छन् ।

Leave Your Comment

Related News