काठमाडौं । वालेट सेवा प्रदायक इसेवाको एप गुगल प्लेस्टोरमा फिर्ता आएको छ। यसअघि इसेवा एप गुगल प्ले स्टोरबाट हराएको थियो।
नेपालको अग्रणी भूक्तानी सेवा प्रदायक मध्ये एक इसेवा एप गुगल प्ले स्टोरमा उपलब्ध नहुँदा प्रयोगकर्तामा अन्यौला छाएको थियो। एप प्ले स्टोरमा नदेखिए पनि डाउन लोड भएको एपले भने सामान्य रुपमा काम गरिरहेको थियो।
अहिले कम्पनी आफैंले सूचना मार्फत इसेवा पुन: गुगल प्लेस्टोरमा उपलब्ध भएको जानकारी दिएको छ।
सूचनामा लेखिएको ,‘हजुरहरुको इसेवा पुन: Google PlayStore मा उपलब्ध रहेको जानकारी गराउन चाहन्छौँ l हामी हाम्रो सम्पूर्ण ग्राहकहरू, एजेन्टहरू, मर्चेन्टहरू र शुभेच्छुकहरूले देखाउनु भएको सदीक्षा प्रति आभारी छौं l ’
यस अघि इसेवा प्राइभेट लिमिटेड कम्पनीको रुपमा थियो। अहिले कम्पनी रुपान्तरण भएर पब्लिक कम्पनीमा परिणत छ। यस परिवर्तनसँग सम्बन्धि विवरण एप स्टोरमा अपडेट गर्नुपर्ने हुन्छ। यसरी अपडेट गर्दा एण्ड्रोइडले अस्थायी रुपमा यस्ता एपहरुलाई प्लेस्टोरमा नदेखिने बनाउँछ।
कम्पनीको नाम इसेवा प्रालिबाट इसेवा लिमिटेडमा परिवर्तन भएका कारण कम्पनीको विवरण डीयूएनएस (डाटा युनिभर्सनल नम्बरिङ सिस्टम)मा अपडेट गर्ने कार्यले गर्दा उक्त एप केहि समयका लागि हटेको थियो।


