CLI

बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत ऋण प्रवाह ५१ खर्ब बढी

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेको ५४ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा ५१ खर्ब रुपैयाँ भन्दा बढी ऋण परिचालन गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा गरिने कर्जाप्रवाह ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो सँगै कर्जा प्रवाहदर भने बढेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कृषि र वनजन्य, मत्स्यजन्य,खनिजमा,कृषि, वन, पेय पदार्थ र गैरखाद्य र निर्माण लगायतका दर्जन क्षेत्रमा करोडौं रकम कर्जा प्रवाह गरेको बताइएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले कृषि र वनजन्यमा ३ खर्ब ६३ अर्ब ८८ करोड रुपैयाँ, मत्स्यजन्यमा १६ अर्ब २१ करोड रुपैयाँ, खनिजमा ११ अर्ब ८९ करोड रुपैयाँ ,कृषि, वन, पेय पदार्थ र गैरखाद्यमा ८ खर्ब ५७ अर्ब ७२ करोड रुपैयाँ, निर्माणमा २ खर्ब ७ अर्ब ७१ करोड रुपैयाँ, उर्जा, ग्यास र पानीमा ३ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ र फलाम, विद्युतीय सामग्रीहरुमा ७० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले यातायात र सञ्चारमा ८८ अर्ब ५५ करोड रुपैयाँ, होलसेल र खुद्रा व्यवसायमा ९ खर्ब ९९ अर्ब ४३ करोड रुपैयाँ, वित्त , बीमा र घरजग्गमा ३ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँ, पर्यटनमा २ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ, उपभोग्य ऋणमा २ खर्ब १ अर्ब ६६ करोड रुपैयाँ , स्थानीय सरकारमा १ अर्ब २१ करोड रुपैयाँ , अन्य सेवामा १० खर्ब १३ अर्ब ६० करोड रुपैयाँ र अन्यमा ३ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ४५ खर्ब ६९ अर्ब ७ करोड रुपैयाँ, विकास बैंकले ४ खर्ब ९८ करोड ६१ लाख रुपैयाँ र वित्त कम्पनीले ९९ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा रही काम गर्न चाहनेले माग गरे अनुरुपको ऋण प्रवाह गरेको हो । मुलुकको विकासको लागि पनि एउटै क्षेत्रमा भन्दा विभिन्न क्षेत्रमा ऋण प्रवाह गरी उत्पादन तथा व्यापार व्यवसाय प्रवद्र्धन गर्नु आवश्यक रहेको बैंकरहरु बताउछन् ।

Leave Your Comment

Related News