CLI
Global College

बेलिब्रिज बगाउँदा तुइन र फड्केले जोडियो तातोपानी नाका

काठमाडौं । भोटेकोशीको बेलिब्रीज बगेपछि ठप्प बनेको उत्तरी नाका तातोपानी नाकालाई लार्चामा तुइन र फड्के बनाएर जोडिएको छ । भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने कोदारी राजमार्ग २६ किलोमिटरको लार्चामा बेलिब्रीज र लिपिङमा मोटरबेल पुल बगेयता सीमाक्षेत्रको राजधानी जोड्ने सडक सम्पर्क पूरै टुटेको थियो ।

पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोसी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एस्काभेटर र टिपर प्रयोगगरी ह्युमपाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ ।

”तत्काललाई तुइनबाट आवतजावत भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ”, वडाध्यक्ष श्रेष्ठले भने, ”भोटेकोसीको प्रवाह अझै नघटेकाले उक्त काम सम्पन्न गर्न अझै दुई दिन बढी लाग्नेछ ।”

लिपिङ खोला उर्लिंदा लिपिङ र कोदारी जोड्ने पुलको भाग ध्वस्त पारेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत थालिएको छ । यसअघि गाउँपालिकासँग भएका पुरानो तुइन अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको हो ।

Leave Your Comment

Related News