डिजिटल कर्जाका लागि एनएमबि बैंक

काठमाडौं । डिजिटल प्रविधिको विकाससँगै नेपाली बैंकहरुले ग्राहकलाई अनलाइनमा आधारित सूविधा प्रदान गर्दै आइरहेका छन् । इन्टरनेट र डिजिटल डिभाइसको प्रयोग बढेसँगै ग्राहक डिजिटल प्रविधिमा अव्यस्त भएसँगै बैंकहरू पनि सोही अनुसार आफूलाई रुपान्तरित गर्दै अघि बढेका छन् ।

डिजिटल प्रविधिको प्रयोगले ग्राहकले वित्तीय सेवा सहज र सुलभ बन्छ । डिजिटल सेवाका रुपमा बैंकहरुले विशेषगरी मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलाई प्राथमिकताका साथ आत्मसाथ गरिरहेका छन् । यसले ग्राहकलाई घरमै बसेर बैंकिङ सेवाहरूको लाभ लिन सक्ने सुविधा प्रदान गरेको छ ।

मोबाइल बैंकिङ र अनलाइन बैंकिङले ग्राहकलाई अनलाइन भुक्तानीमा सहजता दिएको छ । यसका कारण पछिल्लो समय नेपालमा अनलाइन मार्फत हुने भुक्तानी बढ्दो क्रममा छ ।

डिजिटल बैंकिङ अनलाइन भुक्तानीमा मात्र सिमित नभएको एनएमबि बैंकका डिजिटल हेड शिवराज उपाध्याय बताउँछन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड सबै बैंकहरुले ग्राहकलाई उपलब्ध गराउँदै आएका छन् । यसले ग्राहकलाई भुक्तानीमा सहजता प्रदान गरेको छ । डिजिटल बैंकिङ भनेको पारम्परिक बैंकिङ सेवाहरुलाई डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने प्रक्रिया भएको उपाध्याय बताउँछन् । यसमा मोबाइल एप, अनलाइन बैंकिङ र अन्य इलेक्ट्रोनिक माध्यमहरुको प्रयोग गरेर बैंकिङ सेवाहरुको पहुँच र सुविधा प्रदान गरिन्छ ।

डिजिटल बैंकिङले ग्राहकहरूको बैंकिङ अनुभवलाई सहज, छिटो र अधिक सुलभ बनाएको छ ।

एनएमबि बैंक डिजिटल बैंकको रुपमा आफूलाई तयार पार्ने क्रममा छ । यसका लागि बैंकले आन्तरिक प्रक्रियालाई डिजिटलाइज गर्दै अघि बढेको छ । उपाध्यायका अनुसार हालसम्म बैंकले करिब ४५ वटा बिजनेस प्रोसेस अटोमेसन र आरपीआई (रोबोटिक प्रोसेसिङ)मा लगिसकेको छ ।

जसले ग्राहकलाई सुविधाजनक र छिटो तरिकामा सेवा प्रदान गर्न सहजता प्रदान गरेको छ ।

एनएमबि बैंकले डिजिटल भुक्तानीका साथै डिजिटल कर्जालाई प्राथमिकतामा राखेर अघि बढेको उनी बताउँछन् । छिटो छरितो र बिना धितो कर्जा प्रवाह गर्न बैंकको चार वटा डिजिटल कर्जा प्लेटफर्म सञ्चालनमा छन् ।

‘ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्यले यी प्लेटफर्महरु सञ्चालनमा ल्याइएको हो । यी सेवा मोबाइल एप माध्यमबाट अनलाइन आवेदन प्रक्रियालाई सरल बनाएको छ । ग्राहकले घरमै बसेर कर्जा आवेदन गर्न सक्नेछन्। यस सेवाले ग्राहकलाई समयको बचत गर्न मात्र होइन, कर्जाको पहुँचलाई पनि सहज बनाउँछ,’ उपाध्यायले भने ।

यसले आर्थिक समावेशीतालाई प्रवर्द्धन गर्ने र डिजिटल वित्तीय सेवाहरूको विकासमा थप टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।

यस्ता छन् एनएमबि बैंकका डिजिटल सापाटी प्लेटर्फ

एनएमबि सापटी कर्जा

एनएमबी बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा सञ्चालन गरेको छ । यस प्लेटफर्ममा कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया डिजिटल रूपमै गर्न सकिन्छ ।

यो सेवा २४ सैं घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नगएरै मोबाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो बीनाको व्यक्तिगत कर्जा हो ।

एनएमबीमा तलब खाता भएका तलबि कर्मचारीहरुलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म २४ सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको शुरु देखि अन्त्यसम्मको प्रक्रियाले अनलाइन माध्यमबाट हुन्छ । यसले ग्राहकको समय, जुनसुकै स्थानबाट सजिलै कर्जा माग गर्न सकिने र कागजविहीन कार्य वातावरण प्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्याउँने उपाध्यायले बताए ।

एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत गरेको छ ।

परिस्कृत रुपमा अन्य ग्राहकलाई पनि यस्तो सुविधा उपलब्ध गराउने सम्बन्धमा बैंकले पूर्व तयारी गरिरहेको छ ।

मर्चेन्टलाई कर्जा

एनएमबि बैंकले क्यूआर मर्चेन्ट ग्राहकलाई पनि डिजिटल कर्जाको सूविधा प्रदान गर्दै आइरहेको छ । बैंकले मर्चेन्ट ग्राहकलाई ५ लाख रुपैयाँसम्म अधिकतम डिजिटल कर्जा प्रदान गर्छ । मर्चेन्ट ग्राहकले बैंकको मोबाइल बैंकिङमा आफ्नो पान नम्बर र मोबाइल नम्बर राखेर कर्जाको सीमा हेर्न सक्छन् । बैंकले मर्चेन्ट ग्राहकले गर्ने गरेको कारोबारको आधारमा कर्जाको सीमा दिन्छ । उक्त सीमा भित्र रहेर मर्चेन्ट ग्राहकले कर्जा प्राप्त गर्न सक्छन् ।

किसानलाई डिजिटल कर्जा

एनएमबि बैंकले नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जा पनि उपलब्ध गराउँदै आएको छ ।

किसानहरूले खेती एप मार्फत एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्छन् । वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूले सहज रूपमा कर्जा प्राप्त गरुन् भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा पहिलो पटक एनएमबि बैंकले सुरु गरेको हो ।

किसानहरूले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरू खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो खेती एपबाट कर्जा प्राप्त गर्न सक्नेछन् । भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेस गर्नुपर्ने झन्झट बेहोर्नु पर्ने छैन । बैंकले यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्याङ्कन गरेर स्वीकृति गरिनेछ भने ग्राहकहरूले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि किसानले फेरी अर्को कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्छन् ।

यस एनएमबि खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरूले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्दछ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरु जस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्ने छ ।

देशले कृषिको व्यवसायीकरणमा जोड दिइरहेको अवस्थामा किसानहरूलाई पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरू लाभान्वित भई समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव परि देशको आर्थिक विकासमा मद्दत पुग्ने बैंकको विश्वास छ ।

दराज नेपालका बिक्रेतालाई कर्जा

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्जा प्रदान गर्दै आइरहेको छ ।

बिशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाख सम्मको चालु पुँजी कर्जा प्रदान गरिन्छ ।

बैंकले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाईजेशनलाई प्राथमिकता दिइरहेको छ । कर्जा मार्फत ग्राहकहरुले अनलाइनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकास गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरुको आवश्यक चालुपुँजी पूर्ति गर्ने बैंकले बिश्वास लिएको बताए ।

यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले एमएसएमई ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार