बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकारमा ६ अर्बले वृद्धि, ४ खर्ब ३८ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकार ६ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ४ खर्ब ३८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब २४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी मात्र नभई पूँजी कोष समेत बलियो अवस्थामा रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चुक्ता पुँजीमा वृद्धि गर्दा समग्रमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकार बढेको हो । चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३ अर्ब ९९ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको चुक्ता पुँजी ३ खर्ब ७६ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकको चुक्ता पुँजी ४२ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब २१ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुको चुक्ता पुँजी १५ अर्ब २५ करोड २० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धिलाई लिएको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी सबल रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाका शेयरमा आर्कषण देखिदाँ ती संस्थाहरुको चुक्ता पूँजी समेत प्रभावित हुन पुगेको हो । बैंक तथा वित्तीय विशेष गरी वाणिज्य बैंक र विकास बैंकको सेयर किन्ने सदस्यहरु बढेका छन् अर्थात् संस्थापक शेयर र साधारण शेयरमा समेत आर्कषण देखिएको छ । पूँजी कोष सबल राख्नका लागि बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षमतामा समेत सुधार गरी बजारमा आफूलाई बलियो देखाउने गरेको बैंकरहरु बताउछन् । उनीहरुका अनुसार राष्ट्र बैंकको नियमन र बैंक तथा वित्तीय संस्थाले गरेको तलरता (लगानीयोग्य रकम) व्यवस्थापनका कारण पनि चुक्ता पूँजीको कोषमा सुधार देखिएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार