CLI
Global College

गुगल, मेटा, माइक्रोसफ्टलगायत १९ कम्पनीको नेपालमा व्यवसायिक उपस्थिति, ६ महिनामा करिब ५० करोडको करोबार

काठमाडौं । ग्लोबल टेक कम्पनीले सूचना प्रविधि सेवा प्रदान गरेर नेपालमा करिब ५० करोड रुपैयाँको कारोबार गरेका छन् । नेपालमा दर्ता भई सूचना प्रविधि सेवा प्रदान गरिरहेका ग्लोबल टेक कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा ४९ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।

हाल नेपालमा १९ ग्लोबल टेक कम्पनी राजस्व विभागमा दर्ता भई पान नम्बर लिएर नेपालमा कारोबार गरिरहेका छन् । नेपालमा दर्ता भएका विदेशी टेक कम्पनीहरुमा गुगल एसिया प्यासिफिक, एनसीएस पियर्सन, लिंक्डइन सिंगापुर, मेटा प्लाटफर्म आयरल्यान्ड लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स, अमेजन वेब सर्भिसेज, अमेजन डट कम सर्भिसेज, गुगल आयरल्यान्ड लिमिटेड, टिकटक प्रालि, एडोबी सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड, नेटफ्लिक्स प्रालि, जोहो कर्पोरेसन प्रालि, गुगल डिजिटल इंक, प्रोमेट्रिक जापान कम्पनी लिमिटेड, एब्सको इन्टरनेसनल इंक, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्ट्स (एक्का) एसोसिएसन, पियर्सन एजुकेसन लिमिटेड, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड र एप्पल सर्भिसेज प्रालि छन् ।

साउनदेखि पुसमसान्तसम्म यी कम्पनीहरुले नेपालमा कारोबार गरे बापत मासिक बुझाउनुपर्ने भ्याटबापत ६ करोड ४० लाख ९५ हजार रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिल गरिसकेका छन् ।

आर्थिक ऐन २०८१ बमोजिम वार्षिक ३० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने गैरबासिन्दा व्यक्ति (कम्पनी) ले नेपालमा भएको वार्षिक कारोबार मूल्यको २ प्रतिशत विद्युतीय सेवा कर र १३ प्रतिशत भ्याट तिर्नु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार चालु आवको साउनदेखि पुससम्म ग्लोबल टेक कम्पनीले ६ करोड ४० लाख ९५ हजार रुपैयाँ भ्याट तिरेका हुन् ।
आर्थिक ऐन २०८० बमोजिम वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने गैरबासिन्दा व्यक्ति (कम्पनी) ले नेपालमा भएको वार्षिक कारोबार मूल्यको २ प्रतिशत विद्युतीय सेवा कर र १३ प्रतिशत भ्याट तिर्नु पर्ने व्यवस्था थियो । तर चालु आवमा यस व्यवस्थामा संशोधन गरेर ३० लाख रुपैयाँ पुर्याइएको हो ।

सरकारले आव २०७९/८० को बजेटमार्फत पहिलो पटक विद्युतीय सामाजिक सञ्जाललाई कर प्रणालीमा समावेश गर्ने घोषणा गरेको थियो । २०७९ मै महालेखापरीक्षकको ५९ औं प्रतिवेदनले पनि युट्युब, टिकटक, गुगल मिट, जुम, माइक्रोसफ्ट टिमजस्ता एप्लिकेसन प्रयोगमा हुने भुक्तानीबाट राज्यको ठूलो धनराशि विदेशिएको औंल्याएको थियो ।
ती एप्लिकेसनले नेपालमा सेवा दिने भएकाले करको स्रोतको सिद्धान्तका आधारमा सो कारोबार विदेशबाट सञ्चालन भए पनि नेपालमा कर तिर्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो । महालेखाले औंल्याएअनुसार आन्तरिक राजस्व विभागले २२ असार २०७९ मा विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ र गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि, २०७९ जारी गरेको थियो ।

आव २०७९/८० को फागुनदेखि नेपालमा गुगल, मेटा, माइक्रोसफ्ट लगायत ८ कम्पनी दर्ता भएका थिए । उनीहरूले उक्त आवको ५ महिनामै ७० करोड ५४ लाख ५० हजार रुपैयाँ कारोबार गरेको ठूला करदाता कार्यालयलाई बुझाएको विवरणमा उल्लेख छ । त्यसबेला उनीहरूले ९ करोड १७ लाख ८ हजार रुपैयाँ भ्याट र १ करोड ७७ लाख २० हजार रुपैयाँ विद्युतीय सेवा कर बुझाएका थिए ।

आव २०८०/८१ मा नेपाल दर्ता भएका १८ ग्लोबल टेक कम्पनीले २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार गरेका थिए । उक्त कारोबार बापत ग्लोबल टेक कम्पनीबाट सरकारले ४१ करोड ६७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो । यी कम्पनीले ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका छन् ।

Leave Your Comment

Related News