काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समूहको २९ हजार ९ सय ७७ दशमलव ३१ कित्ता शेयर र सर्वसाधारण समुहको २ लाख ९० हजार ५ सय ५५ दशमलव ९१ कित्ता शेयर गरि जम्मा ३ लाख २० हजार ५ सय ३३ दशमलव २२ कित्ता शेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो ।
कम्पनीले लिलाम बढाबढमा शेयर बिक्रि गर्न बिक्रि प्रबन्धकमा सनराइज क्यापिटललाई चयन गरेको छ । शेयरको न्युनतम मूल्य १०० रुपैयाँ रहेकाले इच्छुक खरिदकर्ताले रु १०० भन्दा बढी मूल्यमा बोलकबोल गर्नु पर्नेछ । यो शेयर सबै भन्दा बढी मूल्य कबुल गर्नेले पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ।
लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक शेयर खरिद गर्न न्युनतम १ हजार कित्ता र सर्वसाधारणको शेयर खरिद गर्न न्युनतम १०० कित्ताको लागि बोलकबोल गर्नुपर्नेछ । बढिमा पुरै शेयर खरिद गर्न बोलकबोल गर्न सकिने छ । संस्थापक शेयर खरिद गर्न नियामकिय निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त संस्थापक शेयरधनी हुनको लागि योग्य रहेको कागजात पेश गर्नु पर्ने छ।
यो शेयरमा आबेदन दिन काठमाडौँ भित्र लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको विराटनगर, बिरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीले मङ्सिर ११ गतेदेखि पुस १६ गतेसम्म हाल कायम चुक्ता पूँजीको १०:६.२५६ को अनुपातमा ६२.५६ प्रतिशतले हुन आउने ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । हकप्रदमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ९३ लाख १० हजार ६ सय ८७ कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ । अब बिक्री नभएको शेयर लिलाममा आएको हो।