काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि सामूहिक आक्रमण भएको छ। सर्लाहीको बरहथवा नगरपालिका–८ निवासी ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवलाई शनिबार दिउँसो आक्रमण गरिएको हो। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा फलामे रडलगायतका हतियार प्रयोग गरी यादवलाई कुटपिट गरिएको देखिन्छ।
गम्भीर रूपमा घाइते यादवलाई प्रारम्भिक उपचारका लागि जनकपुर लगिएको थियो। तर, त्यहाँ उचित उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल रिफर गरिएको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारीका ४८ वर्षीय फेकु साह र उनका तीन छोरा— १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह तथा भारत बिहारको सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहले यादवमाथि आक्रमण गरेका थिए। प्रहरीले घटनामा संलग्न पाँचैजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार मुकेश यादव र फेकु साहले संयुक्त रूपमा कबाड संकलन सम्बन्धी ठेक्का लिएका थिए। सोही विषयमा छलफल गर्न यादव बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जागिर दर्जीसँग जनकपुर आएका थिए। छलफलकै क्रममा विवाद भएपछि फेकु साह र उनका छोराहरुले यादवमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।