CLI
Global College

एशियन लाइफ इन्स्योरेन्सका उच्च पदाधिकारीद्वारा व्यक्तिगत लाभका लागि कम्पनीको लगानी दुरुपयोग

काठमाडौं । जीवन बीमा कम्पनीको कोष सुरक्षित र दीर्घकालीन लाभका लागि लगानी गरिनुपर्नेमा एशियन लाइफ इन्स्योरेन्सका उच्च पदाधिकारीहरूले व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले आफ्ना पारिवारिक सदस्य र निकट व्यक्तिहरूको नाममा यती एयरलाइन्स डोमेस्टिक लिमिटेडको शेयर खरिद गरेको खुलासा भएको छ।

यती एयरलाइन्समा ठूलो लगानी

एशियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको ४६.८२ प्रतिशत शेयर खरिद गरेको छ। यती एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना ५१ प्रतिशत शेयर आफूमा राखी बाँकी ४९ प्रतिशत नयाँ साझेदारलाई बिक्री गर्ने योजनाअन्तर्गत एशियन लाइफलाई उक्त प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा एशियन लाइफले ४६.८२ प्रतिशत आफ्नो नाममा राख्दा बाँकी २.१८ प्रतिशत शेयर अध्यक्ष दीपक कुमार श्रेष्ठ र सीईओ दिनेश लाल श्रेष्ठले आफ्ना पारिवारिक सदस्य तथा निजी कम्पनीको नाममा खरिद गरेको पाइएको छ।

व्यक्तिगत लाभका लागि पारिवारिक लगानी

कम्पनी रजिष्ट्रार कार्यालयमा २०८० माघमा दर्ता भएको शेयर खरिद विवरणअनुसार, एशियन लाइफका अध्यक्ष दीपक कुमार श्रेष्ठ र सीईओ दिनेश लाल श्रेष्ठका नजिकका आफन्तले ग्रो क्यापिटल नामक कम्पनीमार्फत यती एयरलाइन्सको ७ लाख ९९ हजार कित्ता शेयर खरिद गरेका छन्। ग्रो क्यापिटलमा दीपक श्रेष्ठकी आमा राजेश्वरी श्रेष्ठको ५० प्रतिशत र छोरा डेबिन श्रेष्ठको ५० प्रतिशत लगानी रहेको पाइएको छ। त्यस्तै, सीईओ दिनेश लाल श्रेष्ठका दिदी रेश्मा श्रेष्ठको नाममा पनि शेयर हस्तान्तरण भएको देखिएको छ।

अन्य नातेदार र सम्बन्धित व्यक्तिहरूको संलग्नता

शेयर कारोबारमा हेटौंडाका निशेष श्रेष्ठ, वीरगञ्जका सुशान्त हाडा, थानकोटका परिना प्रधान, हेटौंडाका प्रसिद्ध वैद्य, जनकपुरका सजल मास्के, जनकपुरकी आँचल मास्के र बुढानिलकण्ठका कृष्ण प्रसाद ओझाले समेत प्रतिव्यक्ति १०० कित्ता शेयर खरिद गरेको देखिन्छ। यीमध्ये श्रेष्ठ, हाडा, प्रधान र वैद्य कम्पनीका अध्यक्ष दीपक श्रेष्ठका निकट आफन्त रहेको खुलासा भएको छ। त्यस्तै, सजल मास्के एशियन लाइफको पूर्व सञ्चालक हुन् भने आँचल मास्के उनकी दिदी हुन्। कृष्ण प्रसाद ओझा माबिलुङ एनर्जी लिमिटेडका कर्मचारी हुन्, जहाँ अध्यक्ष दीपक कुमार श्रेष्ठ र सीईओ दिनेश लाल श्रेष्ठको लगानी रहेको छ।

विमान दुर्घटनापछि शेयर मूल्यमा गिरावट

पोखरामा यती एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परेपछि एयरलाइन्सको शेयर मूल्यमा गिरावट आएको छ। दुर्घटनाअघि प्रति कित्ता रु. १७० मा खरिद बिक्रीका लागि स्वीकृति लिएको एशियन लाइफले पछि प्रति कित्ता रु. १२४.८२ का दरले शेयर किनबेचको सहमति गरेको छ। यस्तो अवस्थाले बीमितहरूको लगानी जोखिममा परेको देखिन्छ।

Leave Your Comment

Related News