काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत गरिएको छ। आज नेप्से र कम्पनीबीच प्रति शेयर सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यमा ७५ लाख कित्ता साधारण शेयर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
कम्पनीले यसअघि एनआइएमबी एस क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धनमा सर्वसाधारण समक्ष साधारण शेयर जारी गरेको थियो। सार्वजनिक निष्काशन (आईपीओ) अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, र कर्मचारीहरुलाई समेत समेट्दै कुल २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) शेयर वितरण गरिएको थियो।
बाँकी ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत) शेयर कम्पनीका संस्थापक शेयरधनीहरुको लगानीबाट रहेको छ। यसरी कुल ७५ लाख कित्ता (१०० प्रतिशत) शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम, नेप्सेले २०८१ चैत २६ गतेको निर्णयअनुसार सूचीकरण गरेको हो।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोवार दिनदेखि कम्पनीका शेयरहरुको दोस्रो बजारमा कारोबार सुरु हुनेछ।
कम्पनीको प्रधान कार्यालय सुर्खेतको विरेन्द्रनगर–६ मा रहेको छ भने सूचीकरणपछि आवश्यक धितोपत्र सेवा (आरटीएस) हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट प्रदान गरिनेछ।