CLI
Global College

चालु आर्थिक वर्षमा विदेशी लगानीकर्तालाई साढे ९ अर्ब लाभांश फिर्ता लैजान स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत महिनासम्म नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन्।

उद्योग विभागका अनुसार, सो अवधिमा स्वीकृत लाभांश रकम ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केही वृद्धि हो। गत वर्ष यसै अवधिमा ९ अर्ब १ करोड ८४ लाख ४७ हजार रुपैयाँ लाभांश फिर्ता लैजान स्वीकृति दिइएको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १ अर्ब ४७ करोड २० लाख २२ हजार रुपैयाँ बराबरको रोयल्टी रकम विदेश लैजान स्वीकृति दिइएको विभागले जनाएको छ।

रोयल्टीबापत ९३ लाख २४ हजार ७३० अमेरिकी डलर, ३८ करोड ३५ लाख ५४ हजार भारु र ६१ हजार ४३१ युरो समेत बाहिर लैजान स्वीकृत गरिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको साउनदेखि चैतसम्म रोयल्टीबापत १ अर्ब ७० करोड १९ लाख ३६ हजार रुपैयाँ, १ करोड ५ लाख ४३ हजार ६३५ अमेरिकि डलर, ५५ करोड ४६ लाख १६ हजार ९७९ भारु र ६१ हजार ४३१ युरो स्वीकृत गरिएको थियो ।

चालु आर्थिक वर्षको चैतमा मात्र लाभांशबापत ४८ करोड १३ लाख ३९ हजार रुपैयाँ स्वीकृत गरिएको विभागको तथ्यांक छ । रोयल्टीबापत ४६ करोड ५२ हजार रुपैयाँ, ५४ हजार ५९१ अमेरिकी डलर र १ करोड ७३ लाख ४० हजार भारु फिर्ता लैजान स्वीकृत गरिएको छ ।

Leave Your Comment

Related News