अर्घाखाँची। लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँची जिल्लाको सिमानासँगै जोडिएको छ। तर, भौगोलिक रूपमा नजिक भएर पनि प्रदेश राजधानी पुग्न जिल्लावासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ। सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न अहिले करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ। तर, गच्छे–भालुबाङ सडक निर्माण सम्पन्न भएपछि यो दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ। यसले हालको सडकमार्गभन्दा करिब ४७ किलोमिटर दूरी छोट्याउनेछ।
सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने सडक निर्माणले गति लिएसँगै जिल्लावासीको लामो समयदेखिको प्रतीक्षा पूरा हुने आशा बढेको छ। प्रदेश राजधानी आफ्नै जिल्लाको सिमानामा भएर पनि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको यो सडक लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना हो। यसको निर्माण सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले गरिरहेको छ।
सडकको कुल लम्बाइ ७३ किलोमिटर छ। सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ।
सडकका विभिन्न खण्डमा कालोपत्र, ग्राभेल तथा आवश्यक संरचना निर्माण भइरहेका छन्। गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र सम्पन्न भएको थियो। चालु आर्थिक वर्षमा थप दुई खण्डमा निर्माणकार्य अघि बढाइएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए।
उनका अनुसार अम्मर एसियाली मल्लरानी जेभी प्युठानले गच्छेदेखि ढिकुरासम्मको ५.६५ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गरिरहेको छ। उक्त खण्डमा कालोपत्रसँगै आवश्यक संरचना निर्माण र ग्राभेलको काम पनि भइरहेको छ। यसका लागि करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त निर्माणकार्य केही दिनमै सम्पन्न गर्ने लक्ष्य रहेको भण्डारीले बताए।
त्यस्तै, समपूरक आयोजनाअन्तर्गत अर्को खण्डमा पनि कालोपत्रको काम अघि बढेको छ। खनाल वैदर्श सागर जेभी अर्घाखाँचीले अघिल्लो आर्थिक वर्षमा सम्झौता गरी निर्माण सुरु गरेको उक्त आयोजनाअन्तर्गत झन्डै ९.५ किलोमिटर सडक कालोपत्रसहित निर्माण भइरहेको छ।
निर्माण व्यवसायी कविराम खनालका अनुसार उक्त सडकको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ। आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए पनि निर्माणलाई तीव्रता दिएर चालु आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य राखिएको उनले बताए।
यस खण्डको निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट पाँच करोड र सङ्घीय सरकारबाट पाँच करोड गरी १० करोड रुपैयाँ विनियोजन भएको छ। सोही बजेटबाट झन्डै साढे नौ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्ने काम भइरहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए।
पाँच स्थानीय तहका बासिन्दालाई प्रत्यक्ष लाभ
गच्छे–भालुबाङ सडक निर्माणले अर्घाखाँचीका नागरिकलाई मात्र नभई छिमेकी जिल्ला गुल्मी, प्युठान र पाल्पाका बासिन्दालाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ। सन्धिखर्कलाई प्रदेश राजधानीसँग छोटो सडकमार्गबाट जोड्ने यो सडकले ग्रामीण क्षेत्रको यातायात पहुँच विस्तारमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।
विशेषगरी नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगङ्गा नगरपालिकाका वडा नं. ५, ६ र ७ तथा भूमिकास्थान नगरपालिकाका वडा नं. ९ र १० हुँदै सडक जाने भएकाले ती क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। भूमिकास्थान नगरपालिका–१० धनचौरका स्थानीय समाजसेवी लेखनाथ पाण्डेका अनुसार सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई सदरमुकाम, प्रदेश राजधानी र अन्य बजार क्षेत्रसम्म पुग्न सहज हुनेछ।
अहिले भौगोलिक विकटता र सडक पहुँचको समस्याका कारण ती क्षेत्रका बासिन्दाले आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। सडक बनेपछि तरकारी, फलफूल, दूध तथा अन्य कृषि र पशुजन्य उत्पादन बजारसम्म पुर्याउन सहज हुने पाण्डेले बताए। सडक पहुँच विस्तारसँगै ग्रामीण उत्पादनले बजार पाउने, स्थानीय व्यापार व्यवसाय फस्टाउने तथा होटल र पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ। प्रदेश राजधानीसँग प्रत्यक्ष सडक सम्पर्क स्थापित भएपछि सरकारी कामकाज, स्वास्थ्य उपचार, शिक्षा र व्यापारका लागि हुने आवतजावत पनि सहज हुनेछ।
दूरी घट्दा यात्रामा लाग्ने समय, इन्धन र यातायात खर्च कम हुने भएकाले यसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
पूर्ण कालोपत्रका लागि अझै एक अर्ब आवश्यक
निर्माणमा प्रगति भइरहे पनि सम्पूर्ण सडकलाई कालोपत्र गरी पूर्णता दिन पर्याप्त बजेटको आवश्यकता छ। अहिलेसम्म भएका कामले सडकको आधार तयार गरे पनि बाँकी खण्डको स्तरोन्नति र कालोपत्रका लागि थप लगानी जुटाउनुपर्ने देखिन्छ। झन्डै एक अर्ब रुपैयाँ बजेट उपलब्ध हुन सके सम्पूर्ण सडक कालोपत्र गर्न सकिने अनुमान गरिएको छ। त्यसैले प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको यस सडकलाई पूर्णता दिन प्रदेश र सङ्घीय सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
प्रदेश राजधानीसँग जोडिने सडक भएकाले यसलाई सामान्य स्थानीय सडकका रूपमा मात्र नभई प्रदेशस्तरीय महत्त्व बोकेको रणनीतिक पूर्वाधारका रूपमा लिनुपर्ने जिल्लावासीको अपेक्षा छ। पर्याप्त बजेट विनियोजन गरी बहुवर्षीय योजनाका रूपमा निरन्तर काम अघि बढाउन सके आगामी केही वर्षभित्र सडकले पूर्णता पाउने सम्भावना छ।
अहिले भौगोलिक रूपमा नजिक भएर पनि सडकका कारण टाढा रहेको भालुबाङलाई गच्छे–भालुबाङ सडकले अर्घाखाँचीको पहुँचमा ल्याउनेछ। यसले ४७ किलोमिटर दूरी घटाउने मात्र नभई जिल्लाको आर्थिक, सामाजिक र प्रशासनिक सम्बन्धलाई प्रदेश राजधानीसँग थप नजिक बनाउनेछ।
अर्घाखाँचीको विकास, ग्रामीण क्षेत्रको समृद्धि र प्रदेश राजधानीसँग सहज सम्पर्कका लागि महत्त्वपूर्ण मानिएको यो आयोजना समयमै सम्पन्न हुनु आवश्यक छ। पर्याप्त बजेट, प्रभावकारी अनुगमन र निरन्तर निर्माणको वातावरण बनाउन सके गच्छे–भालुबाङ सडक जिल्लाको विकासमा नयाँ कोशेढुङ्गा बन्न सक्छ।



