‘कर्जाको कठोरतामा खुम्चियो ईभीको उत्साह: व्यवसाय र उपभोक्ता दुवै मर्कामा’

पछिल्लो समय नेपालमा ईभी अपनाउने दर बढ्दो क्रममा छ। भन्सार छुट र डाउनपेमेन्ट कम हुँदा नेपालमा ईभी प्रतिको आकर्षण बढ्दो क्रममा छ । यस्तोमा नेपाल राष्ट्र बैंकले जारीको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ईभी कर्जाको दर परिवर्तन भएको छ । यस अघि २० प्रतिशत डाउनपेमेन्टमा ईभी खरिद गर्न सकिन्थ्यो । अहिले यसलाई बढाएर ४० प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकको नयाँ नीतिका कारण ईभी बजारमा कस्तो प्रभाव परिरहेको छ । साथै नेपाली बजारमा भर्खर भित्रिएको एमजी एसफाइभ ईभीका सम्बन्धमा नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीसँगको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय नेपालमा ईभी अपनाउने दर बढ्दो क्रममा छ। तर, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कर्जामा परिवर्तन गर्यो। यसले ईभी बजारमा कस्तो प्रभाव पारेको छ?

निश्चित रूपमा यो निर्णय हाम्रो लागि अप्रत्याशित थियो। सरकारले हरित यातायात र ईभीलाई प्राथमिकता दिने नीति लिएको बेला राष्ट्र बैंकको यस्तो निर्णय नीति विपरित लाग्यो। यद्यपि, राष्ट्र बैंक स्वतन्त्र संस्था भएकाले उसले तत्कालीन आर्थिक अवस्थाको मूल्याङ्कन गरी निर्णय गरेको हुन सक्छ। तर यसले ईभी व्यवसायीलाई ठूलो धक्का दिएको छ। ईभीमार्फत स्वदेशको जलविद्युतको प्रयोग, वातावरणमैत्री सवारी, र अत्याधुनिक प्रविधि भएको गाडी प्रयोग गर्ने सोचमा रहेका ग्राहकहरू निराश भएका छन्। विशेषतः मास ट्रान्सपोर्टेसनलाई प्रोत्साहन गर्ने बेला यो निर्णय प्रतिकूल बन्यो।

कर्जामा २० प्रतिशतबाट ४० प्रतिशत डाउनपेमेन्ट पुगेपछि उपभोक्तालाई दुईगुना भार पर्न गएको छ। यसका प्रत्यक्ष प्रभाव स्वरूप, पछिल्लो एक महिनामा मात्र ईभी बुकिङ तथा खरिदमा ३० देखि ४० प्रतिशतको गिरावट आएको छ।

नेपालमा ईभी अपनाउने दर उल्लेखनीय छ। यसको पछाडि मुख्य कारण फाइनान्सिङ हो कि नेपालको लागि ईभी स्वाभाविक रूपमा उपयुक्त भएकाले हो?

यसलाई दुई पक्षबाट हेर्न सकिन्छ। प्रमुख कारक फाइनान्सिङ नै हो। परम्परागत आइस गाडीमा ५०% डाउनपेमेन्ट तिर्नुपथ्र्यो, तर ईभीमा २०% कै डाउनपेमेन्टमा अत्याधुनिक फिचर भएको गाडी पाइन्थ्यो। त्यसैगरी, पेट्रोल–डिजेल, मर्मत, र सर्भिसिङमा खर्च कम हुने भएकाले उपभोक्ताको आकर्षण ईभीमा बढ्यो। यिनै कारणहरूले गर्दा ईभी लोकप्रिय भएको हो।

ईभीको साथसाथै पूर्वाधार पनि आवश्यक हुन्छ। नेपालमा यसको स्थिति कस्तो छ?

पूर्वाधार भन्नाले मुख्यतः चार्जिङ नेटवर्क र विजुली आपूर्तिलाई बुझिन्छ। अहिले विजुली पर्याप्त मात्रामा उपलब्ध छ। दुई वर्ष अघि केही समस्या थियो ।विशेषतः चार्जिङ स्टेसनहरू अपुग थिए। चाडपर्वका समयमा उपभोक्ताले घर फर्कँदा चार्जिङका लागि लामो समय कुर्नु परेको थियो। तर अहिले स्थिति धेरै सुधारिएको छ।

होटल व्यवसायीहरूले पनि राजमार्गमा चार्जर राख्न थालेका छन्। यस्तो सेवा भएकै होटलमा उपभोक्ताको बसाइ बढी देखिन्छ। निजी क्षेत्रले पनि व्यावसायिक गाडीका लागि चार्जिङ स्टेसन स्थापना गरेका छन्। पूर्व र मध्यपश्चिममा चार्जिङ नेटवर्क विस्तार भइरहेको छ भने पश्चिममा क्रमिक रूपमा वृद्धि हुँदैछ।

सरकारको नीतिगत अस्थिरताले लगानीमा कस्तो असर पारेको छ?

चार्जिङ नेटवर्कमा ठूलो लगानी आवश्यक पर्छ। तर नीति बारम्बार बदलिँदा व्यवसायी विश्वस्त हुन सकिरहेका छैनन्। सरकारले अघि सारेको नीति कम्तीमा पाँच वर्षसम्म स्थिर रहने ग्यारेन्टी भए मात्र निजी क्षेत्रले ढुक्क भएर पूर्वाधारमा लगानी गर्ने वातावरण तयार हुनेछ।

होटल व्यवसायी र गाडी बिक्रेताबीचको सहकार्य कस्तो भइरहेको छ?

सुरुआती दिनमा गाडी कम्पनीहरू आफैले चार्जिङ स्टेशन निर्माण गर्थे। तर हाल हाइब्रिड मोडल अपनाइएको छ—जसमा होटल व्यवसायी र गाडी बिक्रेताबीच सहलगानीमा चार्जिङ स्टेसन स्थापना भइरहेको छ। यसले दुबै पक्षलाई फाइदा दिएको छ।

एमजी ब्रान्डको चार्जिङ पूर्वाधारको अवस्था कस्तो छ?

हाल एमजीसँग १७ वटा डीसी र ११ वटा एसी चार्जिङ स्टेशन छन्। तीमध्ये धेरैको क्षमता ३० किलोवाटको छ। तर अहिले उपभोक्ताको चाहना ६०–८० किलोवाट क्षमताको छ, त्यसैले हामी पनि चार्जिङ स्टेसनहरूलाई अपडेट गर्दैछौं।

बजारमा धेरै ब्रान्ड छन्। उपभोक्ताले ईभी छनोट गर्दा के कुरामा ध्यान दिनु पर्छ?

उपभोक्ताले ब्रान्डको स्थायित्व, आयातकर्ता को हो, स्पेयर पाट्सको उपलब्धता, सेवा सुविधा, र ब्याट्री वारेन्टीजस्ता पक्षमा ध्यान दिनुपर्छ। ब्याट्रीजस्तो महँगो कम्पोनेन्टमा ८ वर्षको वारेन्टी भए पनि सो वारेन्टी टिकाउने क्षमताको ब्रान्ड रोज्नु आवश्यक छ। प्राविधिक दक्षता र सर्भिस सुविधा पनि महत्त्वपूर्ण छन्। गाडी मानिसको घरपछिको दोस्रो ठूलो लगानी हो, त्यसैले सजगता आवश्यक छ।

उपभोक्ताले सेवा र मर्मतमा समस्या रहेको गुनासो गरिरहेका छन्। एमजीले कसरी सम्बोधन गरिरहेको छ?

यो समस्या केवल एमजीमा नभएर अधिकांश ब्रान्डहरूमा देखिएको हो। विशेष गरी दुर्घटना, ब्याट्री समस्या र बीमा कभर नहुँदा उपभोक्तामा असहजता देखिन्छ। एमजीले दक्ष जनशक्ति तयार पार्दै, स्पेयर पाट्स मूल्यलाई उपभोक्ता मैत्री बनाउन पहल गर्दै आएको छ। अबको प्रतिस्पर्धा सेवा र सस्तो स्पेयर पाट्समा हुनेछ, र हामी त्यसैअनुसार अघि बढिरहेका छौं।

 ब्याट्री महँगो हुन्छ। एमजीले नेपालमा ब्याट्री रिपेयरिङ सेन्टर स्थापना गर्ने योजना बनाएको छ?

एमजी जेडएस ईभीमा मोड्युल बेस सीएटीएल ब्याट्री छ। मोड्युल मात्र बिग्रिएमा सो भाग मात्र परिवर्तन गर्न सकिन्छ। अहिले भने नयाँ ‘सेल–टु–प्याक’ प्रविधिमा सम्पूर्ण सेट बदल्नुपर्ने हुन्छ। यसलाई सुरक्षित तरिकाले मात्रै खोल्न सकिन्छ। सीएटीएलले नेपालमा साझेदार नियुक्त गरिसकेको छ, र क्रमिक रूपमा परीक्षण तथा मर्मत सेवा सुरु हुने जानकारी पाएका छौं।

हालै भित्रिएको एमजी एसफाईभ ईभी किन उपभोक्ताको रोजाइ बन्न सक्छ?

एमजी जेडएस ईभीले नेपाली बजारमा मास ईभी अपनाउने क्रान्ति ल्याएको थियो। नयाँ एमजी एस फाईभ जेडएस ईभीको उत्तराधिकारी हो। यो प्योर ईभी प्लेटफर्ममा बनेको, अत्याधुनिक र रियल ह्वील ड्राइभ जस्तो सुविधा भएको गाडी हो, जुन यस सेग्मेन्टमा पहिलो हो। खासगरी नेपालको साँघुरो र चिप्लो बाटोका लागि रियल ह्वील ड्राइभ निकै उपयोगी हुन्छ।

यसमा तीनवटा कनेक्टेड एपहरु-टिकटक, युट्युब र स्पोर्टीफाई छन् । तीन वर्षका डेटा समेत कम्पनीले उपलब्ध गराएको छ । यसमा आइस्मार्ट  एप छ । जसले गाडीका धेरै विषयहरुलाई कन्ट्रोल गर्न सकिन्छ । गाडी चार्ज गर्ने/नगर्ने, एसी चलाउने, गाडी लक गर्नेलगायतका काम गर्न सकिन्छ । साँचो घरमै राखेर पनि एपबाट गाडी चलाउन सकिन्छ ।

स्टेरियङ अघि क्यामरा र सेन्सर राखिएको छ । चालकले दायाँ/दायाँ हेरिरहेको र निदाएको अवस्थामा अलर्ट गर्छ ।

एमजी एस फाईभ क्रस ओभर स्पोट्स युटिलिटी भेहिकल (एसयुभी) कार हो । यो कारमा संसारकै सबैभन्दा पातलो ‘अल्ट्रा थीन’ ब्याट्रीको प्रयोग गरिएको छ । यसमा ११० एमएमको ब्याट्री प्रयोग गरिएको छ । यो सुरक्षित ब्याट्री समेत मानिन्छ । गाडीमा इन्डिपेन्डेन्टट सस्पेन्सन छ । चारै चक्चामा इन्डिपेन्टेन्ड सस्पेसन दिइएको छ । यसले ड्राइलुक्स आकर्षक हुने गरी डिजाइन गरिएको छ ।

एमजी फाईभको ४९.१ किलोवाट र ६२.२ किलोवाट ब्याट्री प्याक भएका कारहरु नेपाली बजारमा उपलब्ध हुनेछ ।

इन्ट्री लेभलमा ४९.१ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसक दुई भेरियन्ट नेपाली बजारमा पाइनेछ । यसमा जसले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिन्छ । अर्को भेरियन्ट ६२.२ किलोवाटको ब्याट्री प्याक छ । यसको एउटा मात्रै भेरियन्ट नेपाली बजारमा पाइनेछ । जसले ४३० किमीसम्म रेन्ज दिन्छ ।

एमजी एस फाईभ ईभीले ७.१ सेकेण्डमै १०० किमी प्रतिघण्टाको स्पीड लिन सक्छ । यसको टपस्पीड १७५ किमी प्रतिघण्टासम्म छ । ४६२ लिटरको बुट स्पेश छ ।
४९.१ किलोवाटका दुई भेरियन्टको ४६.९९ लाख रुपैयाँ र ५२.९९ लाख रुपैयाँ पर्छ । ६२.२ किलोवाटको ५७.९९ लाख रुपैयाँ भन्सार मूल्य तोकिएको छ ।

१२.८ इन्चको इन्फोटेन्मेन्ट टच स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सन रुफ , ३६० डिग्री क्यामरालगायतका सुविधाहरु छन् ।

किफायती मूल्यमा उत्कृष्ट फिचर र टेक्नोलोजिको संयोजन भएकाले एमजी एसफाइभ ईभीले पनि जेडएस ईभी जस्तै उपभोक्ताको माया पाउनेमा विश्वस्त छु ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार