निर्जीवन बीमा कम्पनीमध्ये आठको मात्र लाभांश घोषणा, कसको कति

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १३ वटा निर्जीवन बीमा कम्पनीमध्ये आठ कम्पनीले मात्र आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हालसम्म लाभांश घोषणा वा वितरण गरेका छन्। तीमध्ये ६ कम्पनीले लाभांश वितरण गरिसकेका छन् भने दुई कम्पनीको प्रस्तावित लाभांश स्वीकृतिको प्रक्रियामा रहेको छ।

सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रोडेन्टियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले लाभांश वितरण गरिसकेका छन्। जबकि नेको इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश प्रस्ताव गरिसकेका छन् र ती प्रस्तावहरू अबको साधारण सभाबाट पारित भएपछि नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि वितरण गरिनेछ।

यस वर्ष सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ।

नेपाल इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश हो ।

सानिमा जीआईसी इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस र ३९ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत नगद लाभांश, आईजीआई प्रोडेन्टियल इन्स्योरेन्स ९.७४ प्रतिशत नगद लाभांश र शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश दिएको छ ।

नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर र ०.३७ नगद लाभांश र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुअरी भ्यालुएसन)का कारण अन्य कम्पनीको तुलनामा एक वर्ष ढिला लाभांश घोषणा हुँदै आएको छ ।

नेपालमा दक्ष जनशक्तिको आभावका कारण बीमाङ्कीय मूल्याङ्कन गर्नका लागि विदेशी मुलुक पठाउनु पर्ने बाध्यता छ । जसले, गर्दा वित्तीय विवरणको लेखापरिक्षण समयमा नै हुँदैन । जसले, गर्दा निर्जीवन बीमा कम्पनीहरूको लाभांश घोषणा र साधारण सभामा ढिलाई हुँदै आएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स पनि नेप्सेमा निर्जीवन बीमा कम्पनीको रुपमा सूचीकृत छ । यो कम्पनीको शेयर केही समय अघि मात्र नेप्सेमा सूचीकृत भएको हो ।

गत आव २०८०/८१ का लागि निर्जीवन बीमा कम्पनीहरुको लाभांश

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार