काठमाडौं । विद्युत् नियमन आयोगले विभिन्न सेवातर्फका ५ देखि ९ तहसम्मका १२ पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले शुक्रबार वैशाख १२ गते सार्वजनिक सूचना जारी गर्दै इन्जिनियरिङ, प्रशासन, वातावरण, सूचना प्रविधि लगायतका समूहमा खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
इच्छुक उम्मेदवारहरूले आयोगको वेबसाइट मा गई तोकिएको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्। दरखास्त दिने अन्तिम म्याद २०८२ साल जेठ १ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर जेठ ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।
खुला र समावेशी समूहमा पदहरू विभाजन गरिएका छन्, जसअनुसार महिला, दलित, आदिवासी जनजाति लगायतका वर्गका उम्मेदवारलाई समेत सहभागिता सुनिश्चित गरिएको छ।
परीक्षा लोक सेवा आयोगमार्फत सञ्चालन हुनेछ, जसमा लिखित, कम्प्युटर सीप परीक्षा र अन्तर्वार्ताका चरणहरू रहनेछन्। परीक्षा केन्द्र काठमाडौंमा रहनेछ।
सहायकस्तर पाचौँ तहका लागि न्यूनतम उमेर १८ वर्ष र अधिकतम ३५ वर्ष, अधिकृतस्तरका छैठौँ तथा सातौँ तहका लागि २१ वर्षदेखि ३५ वर्षसम्म (महिलाका लागि ४० वर्षसम्म) उमेर सीमा तोकिएको छ।
विस्तृत योग्यता, परीक्षा पाठ्यक्रम, दस्तुर र अन्य जानकारी आयोगको वेबसाइटमा उपलब्ध छ।