काठमाडौं । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ ।
यसअघि ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो । संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए । एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उहाँले बताउनुभयो ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनले भने, “गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।”
उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ ।