काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले आफ्नै मन्त्रीलाई निष्काशित गरेको बताएका छन् ।
प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘सरकार भएदेखि नै तपाईंहरुको सम्पूर्ण ध्यान अन्यत्रै गयो। कतिसम्म भने एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईंहरुले दर्जन बढी निर्णय गर्नुभयो’, उनले भने, ‘महिनौँसम्म मिहिनेत गर्नुभयो। एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाएरै छाड्नुभयो। ठूलो बहादुरी गर्नुभयो।’
उनले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई समेत कुलमानको समर्थन गरेको कारण हटाएको टिप्पणी गरे।
प्रचण्डले बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्न पनि कुलमानलाई विद्युत प्राधिकरणको नेतृत्वबाट हटाएको बताए ।
‘अर्बौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्न पनि कुलमानलाई हटाउनुभयो,’ उनले भने, ‘तर त्यहीँनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता पलाएन ।’


