काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साहित गर्न नसकेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलका सांसदको बेच्नमा देखिएको मौनताले नै यसबारे धेरै कुरा प्रष्ट पार्ने समेत जिकिर गरे।
‘राष्ट्रपतिले आगामी वर्षका नीति तथा कार्यक्रम बाचन गरिरहँदा सत्तारुढ दलका सांसदको बेन्चमा छाएको मौनताले नै नीति तथा कार्यक्रमबारे धेरै कुरा प्रतिबिम्बित गरेको छ,’ उनले भने ,‘सांसदहरुले किन टेबल नबजाएको भन्दै सम्माननीय प्रधानमन्त्रीले आफ्नै सांसदहरुसँग गरेको दुखेसो र नीति तथा कार्यक्रमलाई सर्मथन गर्न पटक–पटक दिएको निर्देशनले नै प्रष्ट पारेको छ।’
उनले आफ्नै सांसदलाई उत्साह दिन नसक्ने नीति तथा कार्यक्रमले जनतालाई सन्तुष्टि दिनै नसक्ने बताए । ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,’ प्रचण्डले भने, ‘छलफलमा नजाँदै देखिएका यी परिदृयहरुले यी नीति तथा कार्यक्रम कसका लागि र कस्तो आएछ भन्ने अनुमान गर्न सकिन्छ।’
उनले सरकारले परम्परा धान्न र औपचारिकता पुरा गर्न मात्रै नीति तथा ल्याएकोको आरोप समेत लगाए।


