पाकिस्तानमा भारतीय आक्रमण सुरु, उडान प्रभावित

काठमाडौं । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दुर’ सुरु गरेको छ । भारत सरकारले एक विज्ञप्ति जारी गर्दै सेनाले ‘अपरेशन सिन्दूर’ सुरु गरेको जनाएको छ ।

भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।’

विज्ञप्तिअनुसार भारतले पाकिस्तानका कुल नौ स्थानहरूलाई लक्षित गरेको छ । अर्कोतर्फ, पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ ।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

भारतीय आक्रमणपछि धेरैवटा भारतीय  एयरलाइन्सको उडान प्रभावित भएको छ । एयरलाइन्सहरुले सूचना प्रकाशित गर्दै जम्मु, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका सबै उडानहरू रद्द गरिएको जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार