भारत–पाकिस्तान तनाव चुलिँदा सीमावर्ती भारतीय बस्तीहरूमा त्रास बढ्दो

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव पछिल्ला दिनहरूमा चुलिँदै जाँदा नियन्त्रण रेखा (एलओसी) आसपासका क्षेत्रहरू पुनः द्वन्द्वको चपेटामा परेका छन्। पाकिस्तानद्वारा लगातार युद्धविराम उल्लंघन भएको भारतले आरोप लगाएपछि सीमामा भड्किएको गोलीबारी र तोपखानाले सीमावर्ती भारतीय बस्तीमा त्रासको वातावरण सिर्जना गरेको छ। यसै कारण भारततर्फका नागरिकहरू घर छोडेर सुरक्षित स्थानतर्फ विस्थापित भइरहेका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार, मे ७ तारिख बिहान पाकिस्तानमा गरिएका हवाई आक्रमणपछिको जवाफी कारबाहीमा एलओसी नजिकै १६ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्। मृतकमध्ये महिला, बालबालिका र भारतीय सेना लान्स नायक दिनेश कुमार रहेका छन्।

साथै, भारतले लाहोरस्थित एक पाकिस्तानी एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गरे पनि पाकिस्तानले यसबारे कुनै पुष्टि गरेको छैन।

एलओसी नजिक कुपवाडा, बारामुला, उरी, पुंछ र राजौरीमा तोपखानाको प्रयोग भइरहेको भारतका सुरक्षा अधिकारीहरूले जनाएका छन्। भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार, पाकिस्तानले पुंछको एक गुरुद्वारामा आक्रमण गर्दा तीन जना सिख समुदायका व्यक्तिको ज्यान गएको छ।

पाकिस्तानद्वारा जम्मु, श्रीनगर, पठानकोट, अमृतसर, कपूरथला, बठिण्डा, चण्डीगढ़लगायत भारतका उत्तर र पश्चिम भागका दर्जनौं सैन्य स्थानलाई लक्षित गरेर ड्रोन तथा मिसाइल आक्रमण गरिएको भारतले जनाएको छ। यद्यपि भारतको एकीकृत काउन्टर यूएएस प्रणाली र एयर डिफेन्सले ती आक्रमणहरू निष्फल तुल्याएको बताइएको छ। मिसाइल र ड्रोनको भग्नावशेष भारतका विभिन्न स्थानमा भेटिएको छ जसले पाकिस्तानद्वारा गरिएका आक्रमणहरू पुष्टि गर्ने भारतको दाबी छ।

बीबीसी संवाददाताहरूका अनुसार, सीमावर्ती पुंछ, राजौरी, नौशेरा, मेन्धर, सुन्दरबनी र अखनूर क्षेत्रमा मोर्टार, भारी तोप र साना हतियारहरूको गोलीबारी व्यापक रूपमा भइरहेको छ।

साथै, पाकिस्तानले आफ्नो तर्फबाट २५ भारतीय ड्रोन खसालेको दाबी गरेको छ। स्थानीय रिपोर्टका अनुसार, भारतद्वारा गरिएको हवाई आक्रमणपछिको अवस्थामा एलओसी नजिकको सूरनकोट लगायतका स्थानमा विस्थापन बढेको छ।

सूरनकोटका स्थानीय मोहम्मद आलम मलिकका अनुसार, उनका घरमा हाल २५ जना विस्थापित बसिरहेका छन्। केही मानिसहरू रातारात पैदलै हिँडेर त्यहाँ पुगेका छन्। यस्तै, अन्य स्थानिय बासिन्दाहरूले बमको आवाजसँगै रातारात घर छोडेर भाग्नुपरेको अनुभव सुनाएका छन्।

बीबीसी संवाददाता सौतिक बिस्वासका अनुसार, २०१६ को तुलनामा विस्थापनको अवस्था यति ठूलो नभए पनि अहिलेको अवस्था निकै संवेदनशील बनेको छ। त्यसबेला करिब २७,००० जनालाई विस्थापित गर्नुपरेको थियो।

पञ्जाबका विभिन्न गाउँहरूमा मिसाइल र रकेटजस्ता वस्तुहरूको भग्नावशेष फेला परेका छन्। अमृतसर, बठिण्डा, गुरदासपुर, मोगा लगायतका जिल्लामा खेतबारीमा विस्फोट भएको र शंकास्पद फलामका टुक्रा भेटिएको जनाइएको छ।

प्रशासनले ती वस्तुहरू नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यद्यपि ती वस्तुहरूको प्रकृति र स्रोतबारे विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

सीमामा चुलिएको तनावसँगै मानवीय संकट र असुरक्षा झनै बढ्दो देखिएको छ। नागरिकको सुरक्षाको चुनौतीसँगै दुवै देशबीचको कूटनीतिक तथा सैन्य सम्बन्ध पुनः तनावपूर्ण चरणमा प्रवेश गरेको स्पष्ट देखिन्छ।
बीबीसी र ऐजन्सीको सहयोगमा

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार