काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अध्यागमन कार्यलयमा अनियमितता तथा मिलेमतो ९सेटिङ० सम्बन्धी उजुरी र सूचनाका आधारमा छापा मारिएको हो।
अख्तियारका अनुसन्धान अधिकृतहरूको टोली अहिले पनि कार्यालयमै रही आवश्यक कागजात संकलन र सोधपुछको कार्यमा जुटेको विमानस्थल स्रोतले जनाएको छ। छापासँगै केही कागजातहरू समेत नियन्त्रणमा लिइएको बताइएको छ।
साथै अध्यागमनका पूर्व प्रमुख तथा हालै मात्र गृह मन्त्रालयमा सरुवा गरिएका सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि हिरासतमा लिइएको हो। भट्टराई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अधिकृत थिए।
आजै मात्र गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारीहरूको हेरफेर गर्दै प्रमुख अधिकृत परिवर्तन गरेका थिए। अख्तियारको छापा र भट्टराईको पक्राउ यसैसँग सम्बन्धित घटनाक्रमका रूपमा हेरिएको छ।
विमानस्थल अध्यागमनमा लामो समयदेखि देखिँदै आएको अनियमितता, भ्रष्टाचार, तथा आप्रवासन प्रक्रियामा हुने मिलेमतोबारे सार्वजनिक तहमा पनि प्रश्न उठ्दै आएका थिए। यस्तोमा अख्तियारको पछिल्लो कदमलाई सोही सन्दर्भमा महत्वपूर्ण मानिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको प्रारम्भिक चरणमै रहेका थप विवरणको जानकारी दिएको छैन ।